सन्दीपलाइ ठुलै सफलता : क्यारेलिबन लिगमा महँगो मूल्य, ७८ लाखमा बिक्रि

क्यारेबियन प्रिमियर लिग सीपीएल टि-२० को अक्सनमा नेपाली सन्दिप लामिछाने महँगो मूल्यमा बिक्रि भएका छन्।

प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारि ड्राफ्ट मार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो।

यो सिजन सन्दिपलाई बार्बाडोसले ठुलो मूल्यमा टिममा लिएको छ। अघिल्लो सिजन ५ हजार डलरमा बिक्रि भएका नेपाली गुगली बलरले यो पटक ७० हजार डलर पाउनेछन्।

नेपाली रुपैयाँमा सन्दिप ७८ लाख ९ हजार रुपैयाँमा बिक्रि भएका हुन्। सीपीएल ड्राफ्ट अन्तर्ग सन्दिप पाँचौ चरणमा चुनिएका हुन्। सीपीएल ड्राफ्टमा कुल ५३६ जना खेलाडीहरु रहेका छन्।

सन्दिपले खेलेको विश्वभरको लिगमा अधिकारिक रुपमा घोषणा भएको मध्ये सन्दिपले पाएको यो सबैभन्दा धेरै मूल्य हो।

बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलरको हाराहारीमा पाएको बताईए पनि अधिकारिक रुपमा भने मूल्य बाहिर आएको थिएन।

इन्डियन प्रिमियर लिगमा सन्दिप गत सिजन २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने गत सिजन क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए।

यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए।

सन्दिपसंगै सीपीएल ड्राफ्टमा सोमपाल कामि, दिपेन्द्र ऐरी र रोहित पौडेल पनि रहेका छन् जसलाई हालसम्म कुनै टिमले लिएको छैन। सन्दिप बाहेक अन्य खेलाडी छनौट हुने सम्भावना भने कम मानिएको छ। ४ जना नेपाली खेलाडी सीपीएल ड्राफ्टमा परेको यो नै पहिलो पटक हो।सन्दिप बाहेक अन्य नेपाली खेलाडीहरु हालसम्म विदेशी लिग खेल्न छनौट भएका छैनन्।

सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपले सेन्ट किट्स एण्ड नेभीस प्याट्रीएट्सको लागि ५ खेलमा कुल ७ विकेट लिएका थिए। सन्दिपको टिम गत सिजन लिग चरण अंकतालिकामा चौथो स्थानमा रहेको थियो भने दोश्रो क्वालीफायरमा पराजित हुँदै समग्रमा तेश्रो भएको थियो।

यो सिजन क्यारेबियन प्रिमियर लिग अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्टइन्डिजमा आयोजना हुने बताईएको छ।

बार्बाडोस ट्रिडेन्टस टिममा सन्दिपसंगै जेसन होल्डर, एलेक्स हेल्स, आसिफ अलि, वाहब रियाज, जोनाथन चार्ल्स, शाही होप, एशले नर्स जस्ता खेलाडीहरु रहेका छन्।

सीपीएल टि-२० मा कुल ६ टिम रहेका छन् जसमा सन्दिप खेल्ने बार्बाडोस संगै गुयना एमाजोन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्।

सन्दिप व्यक्तिगत भ्रमणको क्रममा अहिले अस्ट्रेलियामा रहेका छन्। आईपीएल खेलेपछि नेपाल फर्किएका सन्दिप १ हफ्ता बसाइँ पछि बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

गत वर्ष इन्डियन प्रिमियर लिगमा दिल्लीको लागि छनौट भएपछि सन्दिप लगातार विदेशी लिग खेलीरहेका छन् यस क्रममा उनले बिग ब्यास, पाकिस्तान सुपर लिग, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग , टि-२० लिग जस्ता प्रतियोगिता खेलीसकेका छन्।

आफु सहभागी बनेका हरेक टि-२० लिगहरुको सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा सन्दिप अटाउँदै आएका छन्। यो सिजन आईपीएलमा ६ खेल खेल्दै ८ विकेट लिएका सन्दिपले गत सिजन क्यारेबियन प्रिमियर लिगमा ७ विकेट ( ५ खेल ), ग्लोबल टि-२० लिगमा ८ विकेट ( ५ खेल ), अफगानिस्तान प्रिमियर लिगमा २ विकेट ( १ खेल मात्र ), बिग ब्यास लिगमा ११ विकेट ( ८ खेल ) , बंगलादेश सुपर लिगमा ४ विकेट ( ६ खेल ), पाकिस्तान सुपर लिगमा ११ विकेट ( ७ खेल मात्र ) र टि-१० लिगमा ६ विकेट ( ६ खेल ) हात पारेका थिए।

सन्दिपले खेलेका विदेशी टि-२० लिगहरु :-

१. हंगकंग टि-२० ब्लिटज २. इन्डियन प्रिमियर लिग ( आईपीएल ) , ३. ग्लोबल टि-२० क्यानडा, ४. क्यारेबियन प्रिमियर लिग , ५. बिग ब्यास, ६. टि-१० लिग , ७. अफगानिस्तान प्रिमियर लिग , ८. बंगलादेश प्रिमियर लिग , ९. बिग ब्यास , १०. पाकिस्तान सुपर लिग