रंगशाला डोजर काण्ड: यस्तो रहेछ विवादको चुरो ! धुर्मुसतिरै सोझियो प्रश्न

काठमाडौं। धुर्मुस सुुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको क्रिकेट रंगशालामा देखिएको विवादले थप बहस सृजना गरेको छ । यो बहस स्वयम धुर्मुस सुन्तली तिर केही गम्भिर प्रश्नहरु सोझिएका छन ।

बन्दै गरेको रंशालामा केहि स्थानियले डोजर चलाए पछि त्यसको व्यापक आलोचना भइरहेको छ । नेकपाका स्थानिय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोेलीले डोजर चलाएपछि अहिले यो विषय व्यापक चर्चाको घेरामा रहेको छ ।

सबैले उक्त कदमको विरोध गरेका छन् । निर्माणाधीन रंगशालामा डोजर चलाउँने कदमको विरोध भइरहँदा किन स्थानियले डोजर चलाए भन्ने कोणबाट बहस कमै भएको छ । यस विच अभियान्ता नरबहादुर कार्कीले फरक कोणबाट केहि प्रश्न उठाएका छन् । ‘धुर्मुस – सुन्तली र डोजर’ शीर्षकमा एक आलेख लेख्दै कार्कीले धुर्मुस माथिनै केहि प्रश्नहरु तेर्साएका छन् ।

लामो आलेख लेख्दै कार्किले घुमाउरो पारामा धुर्मुसको गल्ती भएको उल्लेख गरेका छन । हेर्नुहोस उनको लेख


किन चल्यो डोजर ?
धुर्मुस सुन्तली फाउण्डेसनले देश–विदेशमा रहेका नेपालीहरुसँग चन्दा उठाएर भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को सीमानामा रंगशाला बनाउँदैछ । रंगशालाको डीपीआर बन्ने क्रममा रहेकाले काम सुरु भइसकेको छैन । तर, फाउण्डेसनले साइड कार्यालय स्थापना गरेर जग्गा संरक्षणको काम थालेको छ ।

फाउण्डेसनले तीनतिर बार लगाएपछि यसअघि नै पश्चिमतर्फ स्थानीयले अवरोध गरेका थिए । कारण थियो बाटो । रंगशालाको पश्चिमतर्फ अहिले कतै ६ मीटर त कतै ७ मिटरको बाटो छ । बाटोको मुखमा केही घरहरु छन् । तर, भित्र खासै ठूलो बस्ती छैन । स्थानीयका अनुसार रंगशाला निर्माणसँगै यो बाटो ३१ मिटरको हुने सक्ने वडाध्यक्षले बताएका छन् । तर, भोलि रंगशाला बनिसकेपछि बाटो विस्तार गर्दा वस्ती उठ्ने त्रास छायो । त्यसैले उनीहरुले माग अघि सारे– विश्वविद्यालयको जग्गातर्फ नै बाटो बनाइयोस् ।

त्यसका लागि विश्वविद्यालय ज्ञापनपत्र बुझाउने, भरतपुर महानगरपालिका र वडा कार्यालयमा जाने र धुर्मुस सुन्तली फाउण्डेशनलाई दबाव दिने जस्ता काम स्थानीयले गरे । फाउण्डेशनले रंगशालाको जग्गा संरक्षण गर्न बार लगाउँदा नै बाटोका लागि जग्गा छोड्नुपर्ने स्थानीयले माग गरे । चोकमा घर भएका स्थानीय इन्द्रबहादुर बस्नेत भन्छन्, ‘जनताले रंगशाला नबनोस् भन्ने चाहेको छैन, हामी सहयोग गर्छौं । तर, बाटो विस्तार नगरी सुख छैन । अहिले नै बाटो दिनुपर्छ भन्ने हाम्रो कुरा हो ।’

पछिल्लोपटक सीताराम कट्टेलल धुर्मस चितवन आएका बेला त्यहाँका स्थानीय टोल विकास संस्थाका अगुवाहरुको बैठक फाउण्डेशनकै कार्यालयमा बसेको थियो । बैठकमा ३० भन्दा बढी स्थानीय अगुवा सहभागी थिए । चार महिनादेखि उठेको बाटोको यही विवादका कारण जस्तापाताको बार लगाउन नपाउँदा सामानको सुरक्षामा चुनौती थपिएको सीताराम कट्टेलले स्थानीयसँग बताए । रंगशालाका लागिसमेत बाटो चाहिने भएकाले फाउण्डेशनको तर्फबाट सक्दो सहयोग गर्ने उनले बैठकमा बताएका थिए ।

तर, बाटोका लागि यति मिटर छाड्न सक्छु भनेर अहिल्यै निर्णय दिन नसक्ने कट्टेलको भनाइ थियो । रंगशालाको डीपीआर तयार भएपछि बाटोका लागि कति जग्गा छाड्ने भन्ने टुंगो लाग्ने बताएका थिए । रंगशालाको छेउसम्म करीव १० मिटर जमिन बाटोका लागि छाड्न सकिने गरी डीपीआर बनाउने काम भइरहेको जानकारी पनि कट्टेलले गराएका थिए । धुर्मसले बैठकमा भनेका थिए, ‘अहिले ७ मिटरको बाटो छ । हाम्रो साइडबाट कम्तिमा १० मिटर छाड्दा १७ मिटर हुन्छ, यहाँहरुले ३र४ मिटर छाड्नुभयो भने ३१ मिटर हुन्छ ।’

सो बैठकमा धुर्मुसले सामान सुरक्षाका लागि जस्ताको बार लगाउन दिन अनुरोध गरेका थिए । स्थानीयले जस्ताले बार्न दिने सहमति त दिए तर, त्यसका लागि दुई दिन समय मागे । स्थानीयले समय मागेपछि बैठकमा लिखित सहमति भएन । सोमबार दुई दिन कट्यो, थप केही कुरा भएन । त्यसपछि मंगलबार फाउण्डेशनले जस्ताले बार लगाउन थाल्यो । र, बुधबार प्रकाश कँडेलको नेतृत्वमा डोजर लगाएर बार भत्काइयो ।
तर, फाउण्डेशनले लगाएको मात्र होइन, कृषि तथा वनविज्ञान विश्वविद्यालयको तारबार र रुखसमेत ढलाइएको छ । विश्वविद्यालयका अनुसार करीव ५०१ सिमेन्टका पोल लडाइएको छ, जसमध्ये आधा जति फाउण्डेशनले निर्माण गर्न लागेको रंगशालाको क्षेत्रमा पर्छ भने आधा विश्वविद्यालयतिर ।

प्रकाश कँडेल सत्तारुढ नेकपाका स्थानीय नेतासमेत हुन् । उनकै अगुवाइमा डोजर लगाउनुलाई कतिपयले जग्गाको ब्यापारसँग जोडेर हेरे । यो बाटो ३१ मिटर भयो भने त्यस क्षेत्रको जग्गाको भाउ ह्वातै बढ्ने भएकाले अहिले रंगशाला बनेकै बेला उनीहरुले चलखेल गरेको कतिपयको आरोप छ । तर, स्थानीयबासी यो आरोप स्वीकार्न तयार छैनन् । उनीहरु यो माग कँडेल वा पक्राउ परेकाहरुको मात्र नभई सिंगो गाउँको भएको बताउँछन् । पटक पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता भएकाले बाध्य भएर दुःखद कदम चाल्नु परेको उनीहरुको भनाइ छ ।

उनीहरुले पक्राउ परेकाहरुलाई रिहा गरी समस्या समाधान नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन् । धुर्मस सुन्तली फाउण्डेशनले रंगशाला निर्माण तत्कालका लागि स्थगित गरेको छ । रंगशाला निर्माणमा असुरक्षा भएको र काम गर्ने वातावरण नभएकाले काम रोकिएको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताएका छन् । स्थानीयबासी, राजनीतिक पार्टी र प्रशासनका तर्फबाट काम गर्ने वातावरण तयार भए काममा फर्किने उनले बताएका छन् ।