‘वडाअध्यक्षदेखि सांसद र मन्त्रीसम्म डाेजरसँग जाेडिनु चिन्ताकाे विषय हाे’

जेष्ठ १७, जसका कारण अहिले लथालिंग अवस्थामा छ। यतातिर संघीय र प्रदेश सांसदहरुले चिन्ता देख्दिन। म एक्लैले चिन्ता गरेर केही हुन्न। सोमबार मात्रै कारोबार दैनिकमा सानो लेख पढे। उदयपुर, सप्तरी र सिराहको चुरे क्षेत्रबाट जनावरहरु पानी खाएर तराई पसेको खबर थियो। अहिले उदयपुरदेखि सप्तरी, सिराह, धनुषा, सर्लाही, महोत्तरीदेखि सर्लाहीसम्मको यँही स्थिति छ।

निजगढको एयरपोर्ट निर्माणमै गहिरो अध्ययन भएको छैन। तराईमा अब बारा, पर्सा, रौतहट र कलैयामा मात्रै जंगल छ। यँही जंगल भएको स्थान निजगढमा अर्न्तराष्ट्रिय विमानस्थल र कैलालीको गोदावरीमा राजधानी बनाउने सरकारको योजना छ।

यसको विकल्प छ कि छैन? म विकास विरोधी होइन, तर, अध्ययन भइरहेको छैन। वातवरण मैत्री विकासको मोडल हामीलाई चाहिएको छ। कहिले २५ लाख, कहिले १० लाख त कहिले ८ लाख रुख काट्ने विषय अहिले आइरहेका छन्। हजारौ हजार हेक्टर जंगल नष्ट हुने चर्चा भइरहेको छ। चितवनको निकुञ्ज छ। पर्सामा छ। सालाक, घोरल, हरिण, निलगाई, बदेँलहरु आफ्नो बासस्थान उजाड बन्दै जानथालेपछि तराई पसिरहेका छन्।

राज्यले किन यसप्रति चिन्ता प्रकट नगरे जस्तो लाग्छ?

राज्यले चुरे संरक्षणलाई प्राथमिकतामा नराख्दा मलाई पनि चिन्ता लागेको छ। जनसंख्या बढेको छ। मेरो जन्मकालमा ६० लाख जनसंख्या थियो। १५ सालको निर्वाचनमा ७७ लाख जनसंख्या भएकोमा आज पुगनपुग तीन करोड जनसंख्या पुगिसक्यो। सवा दुई करोड जनसंख्या त मेरै जीवनकालमा बढ्यो। भूमि बढ्दैन। बढ्दो जनसंख्याको अतिक्रमणमा चुरेको जंगल परेको छ। चुरेमा भएको कटानी, फँडानी र भूक्षयले तराई मरभूमि बन्दो छ। चुरिया उजाड भयो भने त्यहाँका बन्यजन्तु, बनस्पति, सम्पदा, जडिबुटी नष्ट हुन्छन्। तराई मरभूमि भएर जान्छ।

किन प्रदेश सरकार र स्थानीय तहले त्यतातिर सोच्दैनन् होला?

जनप्रतिनिधिको सम्बन्ध पनि क्रसर उद्योग, एक्साभेटर र डोजरसँग छ। कतिपयले आफ्नै लगानीमा क्रसर उद्योग खोलेका छन्। म काठमाडौंमा २०२० सालमा पढ्न आए। त्यतिबेला मेरो गाउॅमा टुयुबेलबाट चौविसै घण्टा ‘भकभक’ पानी आउथ्यो। त्यसरी बग्ने पानी पोखरीमा जम्मा हुन्थ्यो। सिचाईमा प्रयोग हुन्थ्यो। नुहाउने, खानेपानी शुद्ध हुन्थ्यो। काठमाडौं पढ्दापढ्दै २०२४ सालतिर डाक्टरी पढ्न म कोलकत्ता गए।

दश वर्षमा मैले डाक्टरी गरे। त्यसपछि गाउँमा फर्के। ०४६ सालमा मन्त्री हुंदा त्यही ट्युबेलमा पानी आउन छाडेको थियो। ०३६ सालमा धनुषाको मेरो घरमा ५० फिटमा पानी आएको थियो। राष्ट्रपति भएका बेला मेराे छोरी धनुषा गएर पाइप धसाउँदा २ सय ८० फिटमा मात्रै पानी आयो। अहिले जनकपुरमा साढे चार सय फिट खने पछि मात्रै पानी आउँछ। पानीको लेयर कहाँ देखि कहाँसम्म पुगिसक्यो? अन्दाज गर्न सकिन्छ कि चालिस वर्षमै कति गुना पानीको सतह कम भयो भनेर।

चुरे संरक्षणका लागि विकास बन्द नै गर्नुपर्छ भन्ने हो?

होइन। वातवरण फ्रेन्ड्ली विकास हुनुपर्छ भन्ने मेरो मान्यता हो। राजमार्ग क्षेत्रमा गएको वर्ष सात गाउँमा पानीको हाकार भयो। तल पानीका ड्रमहरु बयलगाढामा हालेर पहाडी बेल्टमा आए। मध्य पहाडमै पचास प्रतिशत पानीको मुहान सुकिसकेको छ। बाढी, सुख्खा, पहिरो र अव्यवस्थित बसोबासले पानीका मुहानहरु सुक्दै गएका छन्।

भोटेकोशी, सुनकोशी र इन्द्रवतीमा जथाभावी ढुंगा—बालुवा निकाल्न डोजर र एक्साभेटर प्रयोग भएका छन्। राति चुरे क्षेत्रमा खनिरहेका छन्। जननेता मदन भण्डारीको नाममा राजमार्गनिर्माण भइरहेको छ। सम्मानित नेताहरुका नाममा शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि काम गर्न सकिन्थ्यो। नेताको नाममा चुरे हुँदै पूर्व–पश्चिम राजमार्ग किन बनाउनु पर्दथ्यो ? यसले उदयपर, सिन्धुली, मकवानपुर, दाङ, सुर्खेत, डोटी र डडेलधुराको सातवटा जिल्लाको चुरे क्षेत्र ध्वस्त हुँदैछ।

मदन भण्डारी राजमार्गको ३० किलोमिटर तलबाट मध्यपहाडी राजमार्ग निर्माण भइरहेको छ। त्यस भन्दा तल महेन्द्र राजमार्ग छ। जुन बजारमा ४ र अन्य ठाउँमा ६ लेनमा निर्माण भइरहेको छ। महेन्द्रराजमार्ग तलबाट इलेक्ट्रिक रेलवे बन्दै छ। यो एसियन हाईवेसँगै जोडिन्छ। त्यो पनि चुरे क्षेत्रबाट जान्छ। विना अध्ययन राजमार्ग बन्दै छन्। यसले बसाइँसराइँ बढाउँछ।

चुरेबाट १ सय ६८ नदी बग्छन्। चुरेमा हुने अतिक्रमणले तराईका रिचार्जका रुपमा रहेका नदीहरु सुकेका छन्। हिमालको अवस्था त्यस्तै छ। हिमालमा हिउँ पग्लिएर १२ फिट गहिरिएको अध्ययनको रिर्पोट छ। हिमालको बर्फी समेत पग्लेर कालो चट्टान बन्दै गएको छ। संसारको स्रोतमा एघार प्रतिशत स्रोत बाज्रिल पछि हाम्रैमा छ। तर हामीले यसको सही सदुपयोग गर्न सकेका छैनौं। आफ्नो सम्पदा बचाउनका लागि वातावरण मैत्री विकास गर्न सकेका छैनौं।