
सर्लाही। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३.६ किलो मिटर निर्माण कार्य सम्पन्न भएको छ। आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षणमा महोतरीको बर्दिवासदेखि बाराको निजगढ सम्मको रेलमार्गको ७० किलो मिटरमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किलो मिटर क्षेत्रको ट्रयाक बेडमध्ये २५.६ किलो मिटर मार्ग निर्माण सम्पन्न भएको छ ।
यसैगरी जोगबनी–विराटनगर १६ किलो मिटर,जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किलो मिटरको ट्रयाक बेडको निर्माण कार्य सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रोरेल अन्तर्गत सातदोबाटो–नारायण गोपालचोक २० किलो मिटरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको हो । खोकना–सातदोबाटो र नारायणगोपाल चोक बूढानीलकण्ठसम्मको १० किलो मिटरको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको छ । बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण शुरु भएको जनाइएको छ । भने बर्दीबास–निजगढ खण्डमा भने मुआब्जाका समस्याहरु चुलिदै गएका छन ।
चीन सरकारको सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ । पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया अघि बढेको सर्वेक्षणमा उल्लेख गरिएको छ । भारत सरकारको सहयोगमा वीरगञ्ज–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन शुरु भएको हो । मेची–महाकाली रेलमार्गको लम्बाइ ९ सय ४५ किलो मिटर छ । लिङ्क मार्गसहित एक हजार ५६ किलो मिटर रेलमार्गको विस्तृत अध्ययन सम्पन्न भएको जनाइएको छ ।