
काठमाडौ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिमण्डलमा परेका एक जना मन्त्रीको बारेमा नेपालमा बिहीबार बेलुकादेखि नै निकै चर्चा भइरहेको छ । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा पनि उनको निकै चर्चा भएको छ । भारतका पूर्व्विदेश सचिव एस जयशंकरलाई मन्त्रीको शपथ गराएपछि नेपालमा चर्चा सुरु भएको हो ।
मोदीको पहिलो कार्यकालमा उनको विशेष दूतका रुपमा नेपालमा आएर केही राजनीतिक दलको असन्तुष्टि कायमै रहेकाले तत्काल संविधान घोषणा नगर्न आग्रह गर्ने व्यक्ति थिए जयशंकर । उनी त्यतिबेला विदेश सचिव थिए ।
भारतले २०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाउनुभन्दा अघि जयशंकर नेपाल आएका थिए । नेपालका मुख्य राजनीतिक दलहरु संविधान जारी गर्न सहमत भएपछि भारतीय प्रधानमन्त्रीका विशेषदूत भएर उनी नेपाल आएका थिए । उनले केही समय त्यो प्रक्रिया रोक्न दबाब दिएको तर नेताहरुले नमानेको त्यतिबेला चर्चा भएको थियो ।
जयशंकरले तत्कालीन राष्ट्रपति रामवरण यादव, तत्कालीन प्रधानमन्त्री स्व। सुशील कोइरालासहित प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए । उनी भदौ ३१ गते काठमाडौं आएका थिए भने असोज ३ गते संविधान जारी गरिएको थियो । उनी भारत फर्किएर गरेको रिपोर्टअनुसार नै भारतले नाकाबन्दी लगाएको नेपालीको बुझाइ रहँदै आएको छ ।
मोदीले हालै प्रचण्ड बहुमतले भाजपाले चुनाव जितेपछि बिहीबारबाट दोस्रो कार्यकाल सुरु गरेका छन् र ५८ सदस्यीय मन्त्रीमण्डलको सूचीको ११ औं बरियतामा जयशंकर छन् ।
उनको मन्त्रालयको टुंगो नलागेको भएपनि विगतको अनुभवलाई हेर्दा उनी विदेशमन्त्री नै हुने संभावना रहेको छ । तर कतिपय भारतीय पत्रिकामा उनी वाणिज्यमन्त्री हुने सम्भावना समेत रहेको बताइएको छ । तर विदेश हुन् वा वाणिज्य दुवै क्षेत्र नेपाल र नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र हुन् ।
१५ जनवरी १९५५ मा जन्मेका उनी जनवरी २०१५ देखि जनवरी २०१८ सम्म भारतको विदेश सचिव थिए । उनी सन् १९७७ ब्याचको भारतको करियर डिप्लोम्याट हुन् । उनी त्यसअघि अमेरिकाको लागि भारतको राजदूत २०१४–२०१५ चीनको लागि भारतीय राजदूत २००९–२०१३, चेक रिपब्लिकका लागि भारतीय २००१–२००४ र सिंगापुरका लागि भारतको हाइकमिसनर २००७–२००९ भइसकेका व्यक्ति हुन् ।
उनले इण्डो युएस सिभिलियन न्यूक्लियर एग्रीमेन्टमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनी अवकाश पाएपछि टाटा सन्सको ग्लोबल कर्पोरेट अफेयर्सका अध्यक्ष भएका थिए । उनले हालै पद्मश्री अवार्ड पाइसकेका छन् । जुन भारतको चौथो सबैभन्दा ठूलो सिभिलियन अवार्ड मानिन्छ । उनी भारतमा मन्त्री भएपछि नेपालमा सर्वसाधारण मात्रै होइन पूर्वप्रधानमन्त्रीसम्मले टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले ट्विट गर्दै भनेका छन,‘नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालीन भारतीय विदेश सचिव एस । जयशंकर अहिले मन्त्री बनेकाले दुई देशबीचको सम्बन्ध आगामी दिनमा कस्तो बन्ला स्वाभाविक जिज्ञासाको विषय बनेको छ । दुवै पक्षले पाठ सिकेर अघि बढौं ।’
हाम्रा प्रम ओली भारतीय प्रम मोदीलाई दिल्लीमा वधाइ दिंदै!नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालीन भारतीय विदेश सचिव एस् जयशंकर अहिले मन्त्री बनेकाले २ देश वीचको सम्बन्ध आगामी दिनमा कस्तो बन्ला स्वाभाविक जिज्ञासाको विषय बनेको छ!दुवै पक्षले पाठ सिकेर अघि बढौं! pic.twitter.com/JakXUWxqwu
— Baburam Bhattarai (@brb1954) May 30, 2019
बीबीसीले जनाएअनुसार बिहीबार गठित मोदी मन्त्रिपरिषदमा परेका जयशंकर त्यत्तिकै परेका होइनन् । उनी भरोसा गर्न सकिने र आवश्यक व्यक्ति पनि हुन् । उनका पिता के सुब्रमण्यम पनि एक कुटनीतिज्ञ हुन् । उनी भारतका प्रमुख रणनीतिक विश्लेषकका रुपमा चिनिन्थे ।
हालैको लोकसभा चुनावमा स्वास्थ्यका कारण विदेशमन्त्री सुष्मा स्वराजले चुनावमा भाग लिएकी थिइनन् । यसले गर्दा मोदीको नयाँ मन्त्रिमण्डलमा जयशंकरलाई अघि सारिएको हुन सक्ने आकलन पनि भारतीय सञ्चारमाध्यममा छ । जयशंकर लोकसभा चुनाव लडेका थिएनन् । त्यसले गर्दा भारतको संविधानअनुसार उनी दुई वर्ष्भित्र राज्यसभाको चुनावमा भाग लिनुपर्नेछ ।
मोदीसँग पहिल्यैदेखि निकट
मोदी पहिलो कार्यकालमा सरकारमा आएको ८ महिनाभित्रै तत्कालीन विदेशसचिव सुजाथा सिंहलाई पदबाट हटाएर जयशंकरलाई बनाएका थिए । सुजाथाको नियुक्ति तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंह सरकारको पालामा भएको थियो । कार्यकाल नसकिँदै उनलाई हटाइएकोमा त्यतिबेला विवाद समेत भएको थियो । त्यतिबेला के पनि भनिएको थियो भने डा. मनमोहन सिंहले पनि २०१३ मा जयशंकरलाई नै विदेशसचिव नियुक्त गर्न चाहेका थिए तर अन्तिम समयमा उनले सुजाथालाई सो पद दिएका थिए ।
दिल्लीको सेन्ट स्टिफन कलेजमा पढेका जयशंकरले पोलिटिकल साइन्समा एमफील गरेका छन् भने जेएनयूबाट पीएचडी । उनलाई परमाणु कुटनीतिमा विशेषज्ञता हासिल छ । अन्तर्रा्ष्ट्रिय हिसाबले उनी एक करियर डिप्लोम्याट हुन् । १९७७ बाट विदेश मन्त्रालयमा काम थालेका उनको पहिलो पोस्टिङ्ग रसियाको भारतीय दूतावासमा भएको थियो ।
उनी तत्कालीन भारतीय राष्ट्रपति शंकरदयाल शर्माको प्रेस सचिव भएर समेत काम गरेका थिए । त्यसपछि उनी विदेश मन्त्रालयको उपसचिव भए । उनी श्रीलंकामा भारतीय सेनाको राजनीतिक सल्लाहकारका रुपमा पनि काम गरेका थिए । चीनसँगको डोकलम क्षेत्रको तनाव हल गर्न जयशंकरको मुख्य भूमिका मानिन्छ । उनी अहिले मोदी मन्त्रिमण्डलमा परेका एक मात्रै गैरराजनीतिक अनुहार हुन् ।
उनी मोदी सरकारमा आएकोमा आश्चर्य मानिए पनि पहिलादेखि नै प्रधानमन्त्री नजिक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जयशंकरको कार्यकाल २०१७ मा नै सकिए पनि मोदीले थप एकवर्ष थपिदिएका थिए । मोदीका २०१८ का हरेक विदेश भ्रमणमा जयशंकरपनि सामेल थिए । वरिष्ठ पत्रकार नीरजा चौधरी जयशंकर क्याबिनेटमा मोदी सरकारमा सामेल हुनुलाई यो मन्त्रिमण्डलको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताउँछिन् ।
बीबीसीसँगको कुराकानीमा उनले प्रधानमन्त्री अघि बढेर यस्ता थुप्रै मान्छेलाई मन्त्री बनाउन सक्छन् भन्ने संकेत यसले गरेको बताइन् । अमेरिका र चीनसँग काम गर्न अहिलेको अवस्थामा जरुरी रहेको र जयशंकरको नियुक्तिले दुवैसँगको सम्बन्ध राम्रो हुने पत्रकार नीरजाको तर्क रहेको छ ।