प्रहरी बिटमै मासु पसल !

नेपालगन्ज: नेपालगन्जमा प्रहरी बिटमा मासु पसल सन्चालन गरेको फेला परेको छ। नेपालगन्ज उपमहानगरपालिका ८ को रानीतलाउ नजिकको सब्जीमण्डीमा प्रहरी बिटमै मासु पसल सन्चालन गरेको भेटिएको हो।

जिल्ला संयुक्त बजार अनुगमन समितिले शुक्रबार बिहान गरेको बजार अनुगमनका क्रममा मासु व्यवसायी रिजवान कुरैसीले प्रहरी बिटमै मासु पसल सन्चालन गरेको भेटिएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतमले जानकारी दिए।

अनुगमन टोली पुग्दा कुरैसी भने भागेका थिए। बिटमा अचानो राखेर मासु काट्ने प्रयोजनमा प्रयोग भएको देखिन्छ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी बिटमै मासु पसल सन्चालन गर्ने कुरैसीलाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो। बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले प्रहरी बिट भए पनि प्रयोगविहीन अवस्थामा रहेको बताए।

उनले भने, ‘जिल्लामा निर्माण गरिएका १५-२० वटा प्रहरी बिट अहिले पनि प्रयोगविहीन छन्। उसले अपराध गरेको भए कारबाही हुन्छ।’

अनुगमन समितिले सब्जी मण्डी नजिकको बब्लु मासु पसलमा खसीको मासु भनेर बेच्नका लागि काट्न भनेर राखेको दुई वटा बाख्री जफत गरी ५० हजार रुपैयाँ जरिवाना गरेको थियो।

मासु पसलमा फ्रिज नै नराखेर मासु स्टोर गर्ने गरिएको, मासु काटने औजार फोहर स्थानमा राख्ने गरेको र दूषित स्थानमा मासुको बिक्री हुने गरेको अवस्था फेला पारेको थियो।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले धम्बोझी, मासु मण्डी लगायतको स्थानमा मासु बिक्रीको अवस्थाको अनुगमन गरेको थियो।