बजारमा नक्कली नोटको बिगविगी (यसरी चिनौ नक्कली र सक्कली नाेट)

काठमाडौं । पछिल्ला केही बर्षयता नेपाली नोटहरु नक्कली भेटिएपनि त्यति धेरै बजारमा आएका थिएनन् । तर पछिल्लो समय नक्कली नोटहरु धेरै बजारमा देखिन थालेका छन् । बजारमा पुगेका नोटहरु बैंकसम्म पुग्ने गरेका छन् । दैनिक १० वटा भन्दा बढी नक्कली नोटहरु बैंकसम्म पुग्ने गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

पछिल्लो समय भारतजस्तै नेपालमा पनि नक्कली नोटको धन्दा शूरु भएको छ । नक्कली नोटको पहिलो शिकार गाउँका सोझा नागरिक पर्ने गरेका छन् भने बढी ब्यस्त हुने पसलहरु पनि यसको मारमा परेका छन् । गतवर्ष पोखरामा विभिन्न माध्यमबाट नक्कली नोटहरू बैङ्कमा पुगेका थिए । सयौ संख्यामा आएका यस्ता नोट प्राय ५ सय र १ हजारका थिए ।

नक्कली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँने गरेका छन् । जाजरकोटमा नक्कली नोट छाप्ने मेसिनसहित केही व्यक्ति पक्राउ परेका थिए । नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले कतिपय नक्कली नोट राष्ट्र बैङ्कसम्म नै पुग्ने गरेको बताए । एक हजार र पाँच सयका नोटहरु हप्तामा एक दुई थान भेटिने गरेका छन्,- निरौलाले भने -पछिल्लो समय नक्कली नोट राष्ट्र बैङ्कसम्म पुग्न थालेका छन् ।

विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवा अड्डा र भट्टी पसलमा बढी नक्कली नोटको कारोवार हुने गरेको छ । घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा नक्कली नोटको प्रयोग हुने गरेको राष्ट्र बैङ्कले बताएको छ । नगदमा ठुलो कारोवार नगर्न र बैङ्क प्रणालीबाट मात्र गर्न निरौलाले सुझाव दिएका छन् । अपरिचित व्यक्तिबाट कारोवार गर्दा र भीडभाडमा सतर्क रहने राष्ट्र बैङ्कले पहिलेदेखि नै सर्तक बनाइरहेको छ । नक्कली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, सक्कलीको खस्रो र कडा हुन्छ ।

सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छापकोे जानकारी पाउँदैनन् । नक्कली नोटको कारोवार गर्नेमाथी ठुलो सजाय नेपालको कानुनले गरेको छैन । फितलो कानुन भएका कारण पनि समस्या भएको मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार बताए ।

यसरी चिन्नुस नक्कली नोट
१. सक्कली नोटको कागज कटनबाट बनेको स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ ।

२. नोटमा उज्यालो पर्नेगरी हेर्दा सक्कली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायातर्प रहेको सेतो भागको बायातर्पmको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्पm फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।

३. सक्कली र जाली नोटलाई कान नजीकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।

४. जाली नोट सक्कली नोटजस्तो खासै चहकिलो देखिँदैन । सक्कली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने नक्कली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ ।

५. नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ । तर, सर्वसाधारणले शङ्का लागेको खण्डमा नक्कली नोट हो कि सक्कली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ । यसो गरेमा सक्कली नोट हो भने विस्तारै केही फुक्छ तर नक्कली नोट छ भने कच्याक्कुचुक नै रहन्छ ।

६. नोटमा रहने सुरक्षण धागो (सेक्युरिटी थ्रेड)बारे जानकार हुन जरुरी छ । सक्कली नोटमा कागजको नोट बन्दा नै सुरक्षण धागो (नोटमा टल्कने धागो) माथि अक्षर परेको हुन्छ । तर, नक्कलीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन । नोटलाई उज्यालोतर्पm फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जाली नोटमा अक्षर स्पष्ट देखिँदैन ।

७. सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा एउटा छुट्टै चहक आउँछ भने जाली नोटमा यस्तो हुँदैन ।

८. बैङ्किङ च्यानलमा भने नक्कली नोट पत्ता लगाउने प्रविधिको व्यवस्था छ । यसका लागि सक्कली र जाली नोट सामान्य हिसाबले पत्ता नलागेमा नक्कली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ । यसले नक्कली नोट फालिदिन्छ । यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट सक्कली वा नक्कली पत्ता लाग्छ ।