पूर्वपत्नी रीनाले लेखेको पत्र पढेर धेरै रोएँ !

जून २००१ मा सार्वजनिक हिन्दी फिल्म ‘लगान’ निर्माण एवं प्रदर्शनमा आएको दुई दशक पूरा भएको छ । आशुतोष गोवारिकरको निर्देशनमा बनेको, आमिर खानले निर्माण गरेको यो फिल्मले भारतीय फिल्म इतिहासमा खास स्थान राख्छ । फिल्मको कथा, चरित्र, सेट, संवाददेखि गीतसम्म उत्कृष्ट मानिएको छ ।

उक्त फिल्म कसरी बनेको थियो ? ओस्कारसम्मको यात्रा कसरी तय भयो ? यस सन्दर्भमा आमिर खानले केही घतलाग्दा कुरा सुनाएका थिए ।

लगन जस्तो फिल्म बनाइँदैन, बन्छ

लगान यस्तो फिल्म हो, जसले हिन्दी फिल्म उद्योगमा एक बेन्चमार्क स्थापित गर्‍यो । के आमिर स्वय‌ले यस बेन्चमार्कलाई तोड्न सक्ला ? यस प्रश्नमा जवाफ दिंदै अभिनेता आमिर भन्छन्, ‘मलाई लाग्छ कि यस्तो फिल्म बस् बन्छ । मेरा काका नासिर साब भन्थे कि कुनै फिल्म शानदार बन्छ, त्यो तिमीले बनाउँदैनौं ।

त्यसलाई तिमी दोस्रो पटक बनाउन चाह्यौ भने सायद त्यस्तै उत्कृष्ट नबन्न सक्छ । तब मलाई लाग्छ कि, लगान पनि यस्तै फिल्म हो । यद्यपि मेरो प्रयास सधैं यस्तै रहन्छ । भलै म लगान बनाउँ, दंगल बनाउँ, तारे जमीं पर बनाउँ, थ्री इडियट्स गरुँ, पिके गरुँ वा कुनै पनि फिल्म । प्रयास त्यही रहन्छ । हामी त्यही जोश र उत्साहका साथ फिल्म बनाउँछौं । र, हरेक फिल्मको आफ्नो गुणस्तर हुन्छ ।

समयको तराजुमा खरो उत्रियो

फिल्मको सन्दर्भ केलाउँदै अभिनेता आमिरले भनेका छन्, ‘आजको मितिमा मुगल ए आजम, गंगा जमुना, मदर इन्डिया…यी फिल्म क्लासिक हुन् । हामीले यसलाई किन क्लासिक भन्यौं ? किनभने यिनीहरु समयको तराजुमा खरो उत्रिए । यी सबै फिल्म ५० वर्षभन्दा बढी भइसकेको छ, तैपनि यी फिल्म जमिरहेकै छन् ।

तब, कुन फिल्म समयको तराजुमा खरो उत्रियो यो कसैलाई थाहा नहोला । कुनै फिल्म यस्ता हुन्छन्, जो आफ्नो समयमा अत्यधिक रुचाइएको होस् । तर, १५-२० वर्षपछि त्यो राम्रो नहुन सक्छ । तर, हाम्रो प्रयास सधैं के रहन्छ भने यस्तो फिल्म निर्माण गरौं, जो वर्षौं वर्षसम्म मान्छेले मन पराइरहन्छन् ।

प्रविधि हुँदो हो त

अहिले प्रविधिले फड्को मारेको छ । अहिले हामी फिल्ममा ति सबै गर्न सक्छौं, जो पहिलेको जमानामा सोच्न पनि सकिंदैनथ्यो । म आफैं उदाहरण दिन्छु, क्रिकेट म्याचको जुन आखिरमा एक घण्टा हुन्छ, त्यहाँ हामीले देखाउनुछ केही १० हजार गाउँलेहरु झुम्मिएको । अहिलेको समयमा यति धेरै मान्छे देखाउन १० हजार मान्छे नै चाहिंदैन ।

हामी प्रविधिको प्रयोग गरेर पनि भीड देखाउन सक्छौं । हामी दश के २० हजार देखाउन सक्छौं । तर, त्यसबेला हामीसँग यी सबै सुविधा उपलब्ध थिएन । कुनै शंका छैन कि, यदि आज हामीले यस्तै बनाउने प्रयोग गरेमा ती सबै कुराको बन्दोबस्ती मिलाउन सकिन्छ ।

गीतको सुटिङ

फिल्मको एउटा गीत छ, घनन घनन घिर घिर । यो फिल्मको निकै चर्चित गीत हो । उक्त गीतको सुटिङ गर्दाको क्षण सम्झँदै अभिनेता आमिरले भनेका छन्, ‘जब हामीले गीतको सुटिङ सुरु गर्‍यौं, लाग्यो सबै ठीक छ । गीत न हो, सबै कुरा मिल्छ । तर, सेटमा यो कुरा संभव भएन ।

किनभने त्यहाँ सबै कलाकारले लिप सिंक गर्नुथियो । हामी केही कलाकारले त त्यसलाई सजिलै समात्यौं । त्यसमध्ये कतिपय कलाकार नन डान्सर थिए, उनीहरुलाई गाह्रो भयो । पहिलो दिन त मुश्किलले एक वा दुई शट मात्र दिन सकियो ।

फेरि आसु (निर्देशक)ले भने, रोक यो यसरी हुँदैन । सबैजना फ्रेस भएर आउनुहोला । आज त हाम्रो रिहर्सल हो ।’

तब हामी सबैजना डाइनिङ एरियामा बस्यौं । आशुले टु इन वन अन गरेर भने, ‘तिमीहरु केवल यो गीत गाउनु अब । त्यसबेलासम्म गाइरहनु, जबसम्म यसलाई याद गर्न सकिंदैन । सबैले गाइरहनु ।’ दुई घण्टा हामीले गला फाट्नेगरी त्यो गीत गाइरह्यौं । अन्ततः दोस्रो दिनको सुटिङ सजिलो भयो ।

यद्यपि के सत्य हो भने भने त्यस गीतको सुट गर्नका लागि कोरियोग्राफर राजु खानले एकदमै जटिल शट लगाएका थिए । त्यसमा सबैको फरफेक्ट टाइमिङ चाहिएको थियो । पहिलो दिन हामीलाई दिक्क लाग्यो, पछि भने सहज भयो । नृत्यको कुरा गर्ने हो भने, सबैजना गाउँले मान्छेहरु थिए । उनीहरुको लागि कुनै परफेक्ट डान्स गर्नु थिएन । सबै मस्तीमा थिए ।’

पूर्व पत्नीको प्रशंसा

लगानसँग जोडिएको सबैभन्दा सम्झनलायक क्षण सम्झँदै आमिर खानले आफ्नी पूर्व पत्नी रीना दत्तलाई क्रेडिट दिए । उनले भने, ‘साँचो भनौं भने मेरो लागि सबैभन्दा खास सम्झनामा छिन्, रीना । मेरी पूर्व पत्नी । रीनालाई मैले भने कि यो फिल्म म निर्माण गर्दैछु तिमीले मेरो साथ दिनुपर्छ ।

उनले भनिन्, फिल्म मेकिङबारे मलाई केही थाहा छैन । वास्तवमा उनी सत्य भनिरहेकी थिइन् । उनले कम्प्युटर साइन्स पढेकी हुन् । यद्यपि उनी सुभाष घईसँग गएर भेटिन्, अशोक ठाकरियासँग भेटिन्, मनमोहन शेट्टीसँग भेटिन् । उनले हरेक कुरा बुझ्ने यत्न गरिन्, फिल्ममेकिङ के हो ? प्राविधिक हिसाबले ।

कति छिटै उनले यो कुरा बुझिन र यति ठूलो फिल्मको व्यवस्थापन गरिन् । मलाई थाहा छ कि, उनी एकदमै अनुशासनप्रिय निर्माता थिइन् । सबैलाई थर्काएर राख्थिन्, मलाई, आशुतोष, नुकल कामटे, अनिल मेहता सबैलाई । जब फिल्म पूरा भयो, तब रीनाले एक चिठी लेखिन्, पूरै टिमका लागि । त्यो चिठी पढेर म यति रोएँ कि, त्यो एकदमै इमोशनल चिठी थियो ।

कथा राम्रो भयो भने तिम्रो मुटुसम्म पुग्छ

मैले आफ्नो करियरमा यो प्रयास गरे कि, म त्यही कथा देखाउँछु जसले मलाई छुन्छ । त्यसमध्ये कति कथा यस्तो हुनसक्छ जो मेनस्ट्रिममा फिट नहुन सक्छ । तर, मलाई के लाग्छ भने कथा यदि राम्रो छ भने तिम्रो मुटुसम्म पुग्छ । तब सधैं म यो कुरालाई अनुसरण गर्छु, कथा राम्रो बनाऔ, दिलबाटै बनाऔ ।

यसमा हामी कहिले सफल हुन्छौं, कहिले असफल । म कमर्शियल सिनेमा वा आर्ट सिनेमामा फरक देख्दिनँ । सबै फिल्म आर्ट हुन्छ । तपाईंको रायमा एउटा फिल्म राम्रो वा नराम्रो हुनसक्छ । तर, त्यो आर्टको रुप हो । मेरो प्रयास सधैं यही रहन्छ कि, म जुन फिल्म गर्छु त्यसले तपाईंलाई बाँधेर राख्न सकोस् र धेरैभन्दा धेरैसँग पुग्न सकोस् ।

हामी ३०० जना परिवार जस्तै थियौं

मैले यति धेरै फिल्म गरें, तर लगान यस्तो फिल्म भयो जसले मेरो सम्बन्धलाई सधैं बाँधेर राख्यो । हामी ६ महीना कच्छमा बसेका थियौं । एकसाथ एउटा होटलमा बसेका थियौं । मुम्बईमा हामी फिल्म बनाउँथ्यौं र घर फर्किन्थ्यौं । त्यहाँ हामी सबै एउटै परिवार जस्तै एकै ठाउँ बसेका थियौं ।

ब्रिटिश एक्टर्स, थिएटर एक्सर्ज । हाम्रो तीन सय जनाको परिवार थियो । फिल्म बनाइरहँदा त्यहाँका गाउँलेहरु सोध्थे, हामीले कहिले फिल्म हेर्न पाउँछौं किनभने यहाँ त सिनेमा हल छैन । तब मैले वचन दिएको थिए, पहिलो शो तपाईंहरुले हेर्न पाउनुहुन्छ ।

उनीहरुले मेरो भरोसा गरेनन्, तर म गंभीर थिएँ । फिल्म सार्वजनिक हुनु तीन हप्ता अघि हामी १५-२० जना भुज गयौं, त्यहाँ हाम्राे पहिलो फिल्मको स्क्रिनिङ थियो । पूरै गाउँलेहरुसँग बसेर हामीले फिल्म हेर्‍यौं । त्यो स्क्रिनिङ मेरो लागि एकदमै सम्झनलायक छ ।