देशभित्रै छ्यापछ्याप्ती जयशंकरहरु छन्, दिल्लीका जयशंकरको चिन्ता गर्नु पर्दैन: याेगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सांसद योगेश भट्टराईले भारतमा नवनियुक्त विदेशमन्त्री एस जयशंकरबारे चिन्ता लिन नपर्ने बताएका छन् । उनले भारतका विदेशमन्त्रीभन्दा नेपालमा धेरै जयशंकर रहेकाले उनीहरुलाई सचेत गराउनु पर्ने बताएका हुन् ।

भारतमा सम्पन्न लोकसभा निर्वाचपछि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ मन्त्रीपरिषद गठन भएसँगै विदेशमन्त्री मन्त्री बनेका जयशंकरको नेपालमा चर्चा भइरहेकाे छ । विसं २०७२ सालमा नेपामा संविधान जारी हुनै लाग्दा तत्कालीन विदेश सचिव रहेका जयशंकरले संविधानमा भारतीय चासोका विषय नपरेको भन्दै रोक्न आएका थिए ।

तत्कालीन प्रधानमन्त्री मोदीको दूत बनेर नेपाल आएका उनलाई नेताहरुले चासो नदिएपछि फर्किएका थिए । लगतै, भारतले नेपालमा ६ महिना लामो नाकाबन्दी लगाएको थियो । नेपालमा भएकाे नाकाबन्दीपछि नवनिर्वाचित विदेशमन्त्री जयशंकरलाई नेपालीले हेर्ने नजर गलत रहँदै आएको छ ।

सोही चर्चा चलिरहेकाे बेला नेता भट्टराईले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘देशभित्रै छ्यापछ्याप्ती जयशंकरहरु छन्, उनीहरुलाई सच्याऔँ । दिल्लीका जयशंकरको धेरै चिन्ता गर्नै पर्दैन ।’