हलो जोत्दै उपमेयर चौधरी, भन्छिन् – खेती नगरी कसरी खान पुग्छ ? आफ्नो काम आफैले गर्ने हो !

उदयपुर। धेरै जनप्रतिनिधि र कर्मचारीलाई असारे बजेट सक्ने चटारो छ । उनीहरु सरकारी वजेट कसरी सक्ने भनेर योजना बनाउँदै छन् । तर उदयपुरको चौदन्डीगढी नगरपालिका उप प्रमुख रीता चौधरीलाई पनि भ्याइ नभ्याइ छ तर उनलाई वजेट सक्ने हतारो होइन आफ्नो खेती लगाउने हतारो छ ।

नगर परिषदबाट ७६ करोड ७४ लाखको बजेट पारित गरेपछि उनी ढुक्क भएर आफ्नो खेती गर्न लागेकी छन् । उपमेयर चौधरी आफै आजकल २२ हर्सपावरको टेलर चलाएर खेती जोत्दैछिन्।

३५ वर्षीय उपमेयर चौधरी भन्छिन्, ‘खेती किसानी नगरी कसरी खान पुग्छ ? आफ्नो काम आफैले गर्ने हो । अहिले परिषदबाट आगामी वर्षको बजेट तथा नीति पारित भएपछि काम केही होलो भएको छ । त्यसैले हलो जोत्न थालेकी हुँ।’

जनप्रतिनिधि,त्यसमा पनि नगरपालिकाको उप मेयरसँगै आउने दायित्व न्याय सम्पादन, योजनाहरुको अनुगमन र फरफारकबाट बचेको समयमा श्रीमान् अनुज चौधरीलाई सघाउन अघि सरेकी हुन् । उनको चौदन्डीगढी नगरपालिका ९ हडिया बकैना चौरीमा एक बिगाहा खेत छ। यो खेत जोत्न एक हल गोरुलाई हप्ता दिनभन्दा बढी समय लाग्थ्यो । तर पावर टेलर भएपछि पालैपालो श्रीमान श्रीमती चौधरीले चलाउन थालेका छन्।

श्रीमान यतिखेर स्वस्थानी कृषक समूहमा आवद्ध छन् । समूहले २२ हर्स पावर टेलर खेतमा जोतेर यान्त्रिकीकरणको प्रक्रियालाई अघि बढाएको छ । सो समूहका अन्य किसानहरुले पनि गोरुले नारेर हिलो खेल्न बाध्य हुनु पर्ने अवस्थाबाट मुक्ति पाएका छन्।

किसानहरुले पालैपालो सो पावर टेलरले खेत जोत्ने छन् । यस्तो बेला फुर्सद पाए अरुको खेत जोतेर पर्म गर्न पछि नसर्ने उपमेयर चौधरी बताउँछिन् । उनले अघि भनिन् ,‘राजनीति एउटा ठाउँमा छ । तर काम नगरी खान पुग्दैन । मैले कामलाई पहिलो प्राथमिकतामा राख्छु । र,म कृषक परिवार भएकोले पहिले हलो जोत्थेँ, अहिले पावर टेलर जोत्छु ।’