
काठमाडौ। नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बनेको नयाँ मन्त्रिमण्डलका विषयमा विभिन्न चर्चा भइरहेको छ । नेपालमा नाकाबन्दी लगाउन मुख्य भूमिका खेलेका एस जयशंकार विदेशमन्त्री बन्दा भारत नेपालको सम्बन्ध कस्तो हुने हो भन्ने आम चाँसो बढिरहेको छ भने उनको मन्त्री मण्डलमा परेका करोडपति मन्त्रीका विषयमा पनि चर्चामै छन ।
मोदी सरकारमा एक जना यस्ता मन्त्री पनि छन् जो चर्चित गायक हुन् । जसले प्रस्सत नेपाली गीत पनि गाएका छन् । उनका नेपाली गीत निकै लोकप्रिय छन् । सुपर हिट नेपाली फिल्म गोठालोको ‘धेरै दिन पछि तिमी याद आयौ’ उनले गाएको निकै लोकप्रिय गीत हो ।
भुवन केसीको सुपरहिट चलचित्र नेपाली बाबुको ‘मञ्जरी ए मञ्जरी’ पनि उनैले गाएका हुन् । रेखा थापाको फिल्म शासनको ‘कहाँबाट आउँछ कहाँ जान्छ माया’ उनले गाएको अर्को चर्चित गीत हो । उल्लेखित बाहेक उनले गाएका अन्य धेरै नेपाली गीत चर्चित भएका छन् । उनी हुन् भारतका लोकप्रिय गायक बाबुल सुप्रियो ।
बाबुल सुप्रियो भारतको राज्य पश्चिम बंगालबाट लोक सभा सांसद निर्वा्चित भएका हुन् । नैबेला कम्यूनिष्ट पार्टीको गढ रहेको बंगालमा हिन्दुवादी भारतीय जनत पार्टीको आधार बनाउन पार्टीले उनको लोकप्रिय छविलाई प्रयोग गरेको छ ।
पश्चिम बंगालको असनसोलबाट सांसद निर्वा्चित भएका बाबुल बंगालमा भाजपालाई स्थापित गराउने अनुहारका रुपमा चिनिन्छन् ।
सन् २०१४ मा पहिलो पटक पश्चिम बंगालमा आफ्नो अस्तित्व काम गर्दा भाजपाले २ स्थानमा विजय हासिल गरेको थियो । जसमा एकजना बाबुल सुप्रियो थिए । यसपटक बंगालमा भाजपालाई १६ स्थानमा विजयी बनाएका बाबुललाई मोदी सरकारमा मन्त्री बनाइएको हो ।
बाबुल मोदी सरकारमा वातावरण राज्यमन्त्री बनेका छन् ।