बाबुराम भट्टराई र हिसिला यमीबिच सम्बन्धविच्छेदको त्यो रोचक प्रशंग !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र हिसिला यमीका बिचमा ‘सम्बन्धविच्छेद’ भएको खुलासा भएको छ । हिसिला यमीद्वारा लिखित पुस्तक हिसिलामा उनले आफूहरुको ‘सम्बन्धविच्छेद’ भएको खुलासा गरेकी हुन् ।

उनले आफ्नो पुस्तकमा बाबुराम र हिसिलाको सम्बन्धबारे धेरै कुराहरुको अफवाह फैलाएको भन्दै रोचक कुरा उल्लेख गरेकी छिन् । २०६८ सालअघि बाबुराम र उनी छुट्टा छुट्टै बस्ने गरेका थिए । त्यही विषयलाई लिएर पार्टी भित्र र बाहिर एउटा बहस भयो, त्यो थियो सम्बन्धविच्छेदको । उनीहरु कामविशेषले अधिकांश समय छुट्टाछुट्टै बस्दै आएका थिए । बाबुरामको प्रधानमन्त्रीत्वकालमा बालुवाटार बस्न थालेपछि बाबुराम–हिसिला सम्बन्धबारे अनेकौं अफवाह फैलाइएको उनी बताउँछिन् ।

कतिसम्म भने ‘बाबुरामलाई बिगार्ने हिसिला नै हो’ भन्नेसम्म आरोप केही पत्रकारले लगाएको कुराले उनलाई अहिलेसम्म पनि निकै बिझाएको छ । अर्का पत्रकारले ‘बाबुरामलाई देवता तथा हिसिलालाई राक्षस’को चित्रण गर्दै लेखेको घटना उल्लेख गरेकी छिन् । यद्यपि कतिपय नितान्त व्यक्तिगत कुरा उल्लेख गरेकी छैनन् । यसबारे उनको स्वीकारोक्ति छ, ‘मसँग जोडिएका घटनाले बृहत् राजनीतिक अर्थ दिन्छ भने मात्र त्यस्ता कुरा लेख्छु ।’

विदेशी मिडियामा समेत बाबुराम–हिसिला सम्बन्धबारे हल्ला चलाइँदा भने चित्त निकै दुखेको कुरा उनी सुनाउँछिन् । यस्तो हल्ला चल्दा बारम्बार आफ्नी आमालाई सम्झिने गरेको उनी उल्लेख गर्छिन् । २००८ सालमा हिसिलाका पिता धर्मरत्न यमी (तुलाधर) उपमन्त्री बनेका थिए । राजनीतिले व्यस्त हुँदा आमा र बुबाको भेट विरलै हुन्थ्यो । त्यस्तो बेला आफन्तले बुबा र आमाको सम्बन्ध टुटाउन खोजेको उनी बताउँछिन् ।

‘तिमी नपढेकी, रूप पनि काली भएकी केटी मन्त्रीको श्रीमती हुन सुहाउँछ भन्दै आफन्तले आमालाई निरुत्साहित बनाए’ भावुक हुँदै हिसिला सुनाउँछिन्, ‘बुबा जब मन्त्री पदबाट हट्नुभयो तब आमा निकै खुशी हुनुभएको थियो ।’ जीवनको उत्तरार्धमा आइपुग्दा सह–अस्तित्वको लागि सबै कुरा त्याग्न तयार भएको हिसिला बताउँछिन् ।

बाबुराम र आफ्नो अस्तित्व फरक–फरक भए पनि पति बाबुरामबाट धेरै राजनीतिक चेतना ग्रहण गर्न पाएको कुरा उनी गौरवसाथ बताउँछिन् । तर बाबुरामको छायाँमा मात्रै आफूलाई राखेर हेर्न नमिल्ने कुरामा उनी अडिग छिन् ।

‘म पनि इन्जिनियर हुँ, म पनि नेता हुँ, म तिमीभन्दा कम हो भनेर गएको भए हाम्रो जीवन पनि प्रचण्ड–बाबुरामको सम्बन्ध जस्तै हुन्थ्यो’ हिसिला भन्छिन्, ‘तर हामीले एकअर्काको अस्तित्व स्वीकार गरेर बाँच्न चाह्यौं ।’ पति बाबुराम अहिले विषम राजनीतिक परिस्थितिको शिकार बन्न पुगेको उनको ठहर छ । यसैले व्यक्तिगत जीवनमा मात्र होइन राजनीतिमा अप्ठेरो परेको हुनाले पतिको सहयात्री बनेर साथ दिने कुरा उनले बारम्बार दोहोर्याउँदै आएकी छिन् ।