राजदरबार हत्याकाण्डको भोलिपल्ट पत्रिकामा छापिएको त्याे समाचार

काठमाडौं। श्री ५ महाराजधिराज बीरेन्द्र वीर विक्रम शाहदेवलाई शुक्रबार साँझ नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजमा अकस्मात् चलेको गोली लाग्न पुगेको छ।मौसूफको स्थिति शनिबार बिहान ३ बजेसम्म आधिकारिक रुपमा स्पष्ट हुन सकेको छैन । मौसुफलाई उक्त गोली लागेको लगत्तै छाउनीस्थित सैनिक अस्पतालमा पु-याइएको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवी शाहलाई पनि सो क्रममा गोली लागेको छ । त्यसै गरी, श्री ५ युवराजधिराज दीपेन्द्र वीर विक्रम शाहदेवलाई पनि गोली लागेको छ ।

सो क्रममा श्री ५ नीराजन वीर विक्रम शाह, श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शान्ति सिंह, कुमार गोरखशमशेर जबरालगायत राजपरिबारका अन्य सदस्यहरुलाई पनि गोली लागेको छ । गोली लागेका सबैलाई छाउनीस्थित सैनिक अस्पतालमा पु-याइएको छ ।गोली लागेका मध्ये १५ जनाको मृत्यु भएको समाचारसूत्रहरुले उल्लेख गरे पनि समाचारको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।पारिवारिक भोजमा श्री ५ युवराजधिराजको विवाहको प्रसंग चलेपछि अकस्मात् पौने १० बजेतिर उक्त गोलीकाण्ड भएको समाचरसूत्रहरुको दाबी छ ।

शुक्रबार राति नै उक्त घटनाको लगत्तै पोखरामा रहिबक्सेका श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाहलाई हेलिकोप्टरबाट राजधानी ल्याइएको छ ।उक्त घटनाको लगत्तै शुक्रबार राति नै मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । त्यस्तै राजपरिषद् स्थायी समितिको आकस्मिक बैठक पनि बसेको छ । स्थिति स्पष्ट भइनसकेका कारण अति संवेदनशील अवस्थामा थप विवरणहरु किटानीका साथ खुलाउन नमिल्ने उच्च सूत्रहरुले बताएका छन् । दरबार हत्याकाण्डकाे भाेली पल्ट छापिएकाे समाचार नेपाल समाचार पत्र दैनिकले आज पुनः प्रकाशित गरेकाे छ ।