“गलत प्रचारले ओली र म बीच एकता अझ सुदृढ हुन्छ” :-प्रचण्ड

  • शशिधर पराजुली, गोरखापत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको विषयलाई लिएर सञ्चार माध्यममा भइरहेको प्रचारले दुई अध्यक्षबीचको एकता अझ सुदृढ हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी एकता गर्दा भएको सहमतिको विषयमा मैले बोलेको कुराले हामीबीच असमझदारी बढाउने हैन, सुदृढ हुन मद्दत पु¥याउँछ किनभने यहाँ बढी प्रचारबाजी भएको देखेपछि पार्टी र नेतृत्व तहमा अझ बढी सुदृढ एकता बनेरै जान्छ ।’

उहाँले पार्टीका नेता कार्यकर्ता, समर्थक, जनसमुदायलाई अनावश्यक प्रचार नगर्न र आरोप प्रत्यारोपमा नउत्रिन पनि आग्रह गर्नुभयो । ‘मैले कुनै नयाँ कुरा भनेको हैन, हिजो प्रधानमन्त्रीले पनि स्पष्ट गरिसक्नुभएको छ, यो कुरा धेरै पटक सार्वजनिक भएको छ , किताबहरूमा छापिएको छ र धेरै मिडियाले प्रकाशित गरेकै विगतको हाम्रो सहमतिको मैले स्मरण गरेको मात्र हो,’ अध्यक्ष प्रचण्डले थप्नुभयो, ‘त्यसलाई अतिरञ्जित गर्ने गरी, पोलराइजेसन गर्ने गरी प्रचार गरियो, यस्तो नगर्न म सबैलाई आग्रह गर्दछु ।’

अध्यक्ष प्रचण्डले जेठ २० गते बस्ने पार्टी सचिवालयको बैठकले केन्द्रीय सदस्यहरूको कार्य विभाजनसम्बन्धी निर्णय गर्ने जानकारी दिनुभयो । ‘आज १८ गते सचिवालयको बैठक बस्ने भन्ने कुरा थियो तर प्रधानमन्त्री भारतबाट फर्केलगत्तै पोखराको कार्यक्रममा सहभागी हुने कार्यक्रम भएकाले २० गते बैठक बस्ने भन्ने कुरा भएको हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अब हामी दुई जना अध्यक्ष भोलि बसेर प्रस्तावलाई अन्तिम रुप दिन्छौँ र २० गते बैठक बसेर कार्य विभाजनको विषयमा निर्णय गर्छौं ।’