विश्वासको मत माग्ने देउवा, अग्नीपरीक्षा ओलीको

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने प्रतिनिधिसभाको बैठकमै विश्वासको मत लिने भएका छन्। दोस्रो पटक विघटन भएर अदालतको आदेशले पुनःस्थापना भएपछिको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा (७६) ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएको ५ दिनमै देउवाले विश्वासको मत लिने तयारी गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।खासमा प्रधानमन्त्री देउवाले चलाखी गरेको प्रस्ट छ। नियुक्तिपछि देउवासँग विश्वासको मत लिनको लागि ३० दिनको समय छ। त्यो ३० दिनमध्ये आज पाँचौं दिन हो ।

प्रधानमन्त्रीलाई नियुक्तिपछि विश्वासको मत लिँदासम्म अरु दल तथा सांसदहरुलाई विश्वासमा लिनको लागि यो एक महिनाको समय राखिएको भए पनि देउवाको हकमा भने उल्टो छ।

उनी प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिल्यैदेखि उनको साथमा बहुमत सांसदको समर्थन छ तर यो एक महिनाको अवधिमा परिस्थिति उल्टिएर उनले विश्वासको मत गुमाउन सक्छन्।

त्यसैले आफूले विश्वास गुमाउने परिस्थिति नआउँदै देउवा विश्वासको मत लिएर ढुक्क हुन चाहन्छन्। यदि आज देउवाले विश्वासको मत पाए भने संवैधानिक व्यवस्थाअनुसार २ वर्षसम्म उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन।

त्यो अवधिमा वर्तमान प्रतिनिधिसभाको कार्यकाल नै सकिन्छ र स्वतः चुनाबमा जानुपर्छ। हुन त उनले आज विश्वासको मत नपाए पनि प्रधानमन्त्री उनी नै रहन्छन्। तर, कामचलाउ प्रधानमन्त्रीको हैसियतमा। कामचलाउ हैसियतमा रहँदा ठूला निर्णय गर्न भने उनलाई नैतिक संकट हुनेछ।

देउवाले आज विश्वासको मत लिने तयारी गरिरहँदा देउवालाई भन्दा धेरै दबाब पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई छ। किनकि देउवा एमालेभित्र विवाद चलिरहेको बेला धमिलो पानीमा माछा मार्न चाहन्छन्।

एमालेभित्र विवाद चलिरहेका बेला अहिले नै संसदमा विश्वासको मत माग्ने हो भने माधव नेपाल पक्षका सांसदले उनलाई मत दिन्छन्। एमालेको विवाद मिलिहाल्यो भने उनीहरुले मत नदिन पनि सक्छन्। त्यसैले उनी ‘भाइ फुटे गवार लुटे’ शैलीमा एमाले नमिल्दै विवादको फाइदा उठाउन चाहन्छन्।

देउवाले विश्वासको मत मागिरहँदा आफ्नो पार्टीलाई एकढिक्का राख्न सक्ने कि नसक्ने भन्ने गम्भीर चुनौती पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग छ। ओली एमालेका पार्टी अध्यक्ष हुन् र एमाले संसदीय दलका नेता पनि हुन्।

आज उनले माधव नेपाल समूहलाई देउवाको पक्षमा मतदान गर्नबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने एक प्रश्नको जवाफले ओली नेतृत्वको सफलता वा असफलताको छिनोफानो गरिदिनेछ।

ओलीको बोली अलि छुद्र छ। उनी आफूसँग असहमत पक्षलाई बोलीको झटारो हान्छन् । उखान, टुक्का, भाषिक अलंकारको प्रयोग गरेर होच्याउँछन् । सुन्दा रमाइलो लाग्ने भएपनि उनले जसप्रति लक्षित गरेर घोचपेच गर्छन् उसलाई ओलीको बोली गोलीझैं लाग्छ।

आज ओलीको बोली फेरिएला र उनले माधव नेपाल पक्षका सांसदलाई फकाएर रोक्न सक्लान् कि नसक्लान् भन्ने विषयमा धेरैको चासो छ। रोक्न सकेनछन् भने बेलुका आलोचकले भन्नेछन् –तित्राको मुखै बैरी।

देउवालाई आज विश्वासको मत लिनबाट रोक्नु ओलीका लागि यसकारण पनि जरुरी छ किनकि आज विश्वासको मत पाए देउवा जनमत प्राप्त प्रधानमन्त्री बन्नेछन्। बालुवाटारबाट निस्केलगत्तै ओलीले आफूलाई जनादेशले होइन परमादेशले हटाएको भनेका थिए।

हट्नुअघि उनी संसदबाट विश्वास नपाएका अल्पमतका कामचलाउ प्रधानमन्त्री थिए। र, उनी निर्वाचनसम्म नै कामचलाउ हैसियतमै जाने तयारीमा थिए। तर, आज देउवाले विश्वासको मत पाए भने देउवाले संसदको विश्वास प्राप्त जनमतको प्रधानमन्त्रीको हैसियतमा चुनाब गराउनेछन्। देउवा त्यसरी चुनावमा जानु निर्वाचनका क्रममा ओलीका लागि थप चुनौतीपूर्ण हुनेछ।