यस्ता छन् बाँसको तामा खाँदा हुने फाइदा

गाउँघरमा यतिबेला सागसब्जीको दुःख हुँदैन । त्यसमाथि थरीथरी तरकारीले जिब्रोको स्वाद फेर्न पाइन्छ । जस्तो कि, तामा । बाँसको कलिलो टुसा हो यो । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ । तपाईंको स्वाद र मर्जी अनुसार ।

बाँसको तामा सजिलै उपलब्ध हुने त्यस्तो तरकारी हो, जसमा कुनै रासयनिक मलखाँद, विषादी मिसाउन जरुरी हुन्न । अर्थात यो शुद्ध, ताजा र पूर्ण जैविक हुन्छ । किनभने बाँसका लागि अतिरिक्त मल र विषादी चाहिँदैन । न सिंचाई गर्नुपर्ने । यो जता–ततै सजिलै हुर्कने वनस्पति हो ।

वास्तवमा बाँस आफैमा बहुउपयोगी र बहुगुणी वनस्पति हो । बाँस छिटै बढ्ने प्रजातिमा पर्छ । त्यसैगरी यसले वायुमण्डल शुद्धिकरणमा पनि खास भूमिका खेल्छ ।

अब कुरा गरौं, बाँसको टुसाको । टुसालाई तामाको रुपमा विभिन्न व्यञ्जन बनाएर खान सकिन्छ । यसको सुप बनाएर खान सकिन्छ, भुटेर खान सकिन्छ, अन्य सागसब्जीमा मिसाएर खान सकिन्छ, अचार बनाएर खान सकिन्छ । अर्थात आफ्नो स्वाद अनुसार यसलाई थरीथरी परिकारमा तयार गर्न सकिन्छ ।

तामा, आलु र बोडीको झोलले त धेरैको जिब्रो लोभ्याउँछ । त्यसैगरी यसलाई सुख्खा भुटेर वा अचार बनाएर पनि स्वाद फेर्न सकिन्छ । बाँसको तामालाई पारम्परिक खाद्य पदार्थको रुपमा उपयोग गर्न सकिन्छ ।

स्वादको मात्र के कुरा, यो पौष्टिकताले पनि भरपुर तरकारी हो । बाँसको तामामा मूख्यत भिटामिन ए, भिटामिन इ, भिटामिन बि, भिटामिन बि६, थायमिन, फोलेट, प्याटोथेनिक एसिड, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस, पोटाशियम, सोडियम, कपर, आइरन जस्ता तत्व पाइन्छ ।

बाँसको तामा खानुका फाइदा :

बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ।
-बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ।
-पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ।
-पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ।
-गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ।
-ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ।
-नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।
-तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ। त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ।
-तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ।
-आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ।
-रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ।
-फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा।
-श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ।