
काठमाडौं । सडकमै महिला कुट्ने सवारी चालकविरुद्ध कंचनपुर प्रहरीले आज मुद्दा दर्ता गरेको छ। चर्को भाडा लिएको बिरोध गर्ने महिलालाई सडकमै कुटपिट र गाली बेइज्जती गर्ने चालक गोकुल बोहराविरुद्ध कञ्चनपुर प्रहरीले आज मुद्दा दर्ता गरेको हो ।
से १ ज १०९४ नम्बर गाडी (किया गाडी)का चालक बोहराले धनगढीकी लक्ष्मी धनाडीलाई सडकमै लछार पछार र कुटपिट गरेका थिए । महिलालाई सार्वजनिक स्थलमै कुटपिट गर्ने बोहराविरुद्ध ‘सार्वजनिक हित शान्ति सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर’मा मुद्दा दर्ता गरिएको हो ।
सँगै यात्रा गरिरहेका बैतडीको मेलौलि नगरपालिका, सलेनाका दिपेन्द्र चन्दले उक्त कुटपिटको भिडियो खिचेर सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए । उनै दिपेन्द्र चन्द र कुटपिट गरिएकी धनाडीको संयुक्त उजुरी अनुसार चालक बोहराविरुद्ध मुद्दा दर्ता गरिएको हो । उक्त मुद्दा अनुसार पीडकलाई एक वर्षसम्म जेल सजाय र २० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी ब्यवस्था छ ।
उक्त घटनाको भिडियो फुटेज सार्वजनिक गर्ने दिपेन्द्र पूर्व प्रहरी जवान हुन् । प्रहरीभित्रको बेथितिविरुद्ध बोल्दा जवान चन्दलाई जागिरबाट हटाइएको थियो ।