‘दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि माधव नेपाल मानेनन्’- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष बनाउन आफू तयार हुँदा पनि वरिष्ठ नेता माधवकुमार नेपाल सहमतिमा नआएको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटीको बुधबार बसेको बैठकलाई सम्बोधन गरेका ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो भएको बताए । ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’ पार्टीमा एकता कायम भए सबै संरचनाहरु २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने समेत उनले बताए ।

नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग राखेको र आफूले कार्यदलका सदस्यहरुलाई त्यसका लागि तयार छु भनेको उनले सुनाए । ‘मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’ ओलीले भने, ‘यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ ।

केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन ? हामीलाई पार्टीबाट निकाल्न ?’ एक केन्द्रीय सदस्यका अनुसार ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु अनैतिक, अराजनीतिक र आपराधिक कार्य भएको बताएका छन् । उनले अघि भने, ‘तै पनि मैले फिंजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु ।

एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन ।’२७ असारमा एमाले एकताका लागि १०बुँदे सहमति जुटाएको तत्कालीन कार्यदलका नेताहरुका अनुसार त्यसबेला पनि औपचारिक र अनौपचारिक माध्यमबाट नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने सकिने प्रस्ताव नेता नेपालसम्म पुगेको थियो । तर त्यसबारे थप को कुनै विश्वसनीय आधार थिएन ।

सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा रहेको एमाले सांसदहरुको हस्ताक्षर फिर्ता गराउन मात्र यस्तो भनिएको हुनसक्ने वरिष्ठ नेता नेपालको विश्लेषण थियो ।२८ असारमा सर्वोच्चले संसद पुनर्स्थापना मात्र गरेन, एमालेका २३ सहित १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो । ३ साउनमा नेता नेपालसहित एमालेका २२ सांसदले फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिए ।

त्यही प्रकरणलाई लिएर ओलीले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्, जसमा फ्लोर क्रसबारे केही बोलिएको छैन । तर पार्टीभित्र गुटबन्दी गरिएको, विपक्षी गठबन्धनलाई सघाएको जस्ता आरोप छ । नेपाल समूहले भने पार्टी एकताको प्रयासमा भाँजो हाल्ने गरी स्पष्टीकरण सोधिएको बताएको छ । साथै माधव नेपालसहित फ्लोर क्रस गर्ने सांसदहरुविरुद्ध भइरहेको नाराबाजी रोक्न र एकताका लागि गम्भीर पहल गर्न आग्रह गरेको छ ।

साथै दोस्रो अध्यक्ष दिने प्रस्तावमा अध्यक्ष ओली टिकिरहने हो भने छलफल हुनसक्ने नेपाल समूहका नेताहरुले बताएका छन् । तर ओली पक्षका कतिपय नेताहरुले भने यो सर्वोच्च अदालतको फैसला पूर्वको अवस्था भनिएको भन्दै अहिले त्यसमा नअड्ने संकेत गरेका छन् ।