चीनबाट ८ लाख डोज खोप आज आउँदै

काठमाडौं । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो खोप लिएर आउने बताइएको छ ।

आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सि ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ ।

केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन् ।

जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।