दुई तिहाइको बलमा पेलेर जाने सरकारविरुद्ध कडा रुपमा प्रतिवाद गर्ने सभापति देउवाको चे’तावनी

सिन्धुपाल्चोक। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढङ्गले पेलेर जाने नीति लिएको आरोप लगाउँदै कडा रुपमा प्रतिवाद गर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पास्थित बाघ भैरव नमूना माविको नवनिर्मित भवनको सोमबारउद्घाटन गर्दै उनले सरकार दुई तिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिमा लागेको आरोप लगाए ।

उनले त्यसको दृढताका साथ सशक्त ढङ्गले प्रतिवादमा उत्रिने जिकिर गरे । भूकम्पबाट ध्वस्त संरचनाको पुनःनिर्माणकार्य चाडै सकाउन सरकारलाई आग्रह गर्दै सभापति देउवाले द्वन्द्वकाल र विभिन्न समयमा अन्यायमा परेका जनतालाई न्याय दिनुपर्नेमा जोड दिए ।

वडाअध्यक्ष नेत्रबहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा सांसद् अग्नि सापकोटा र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि आ–आफ्नो धारणा राखे ।

विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु नौ करोड १८ लाख ७८२ मा सुविधा सम्पन्न २४ कोठे भवनको पुनःनिर्माण गरेको हो । रासस