‘म राजन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन’- रवीन्द्र मिश्र

संघीयता खारेज गरी धर्मनिरपेक्षताबारे जनमत संग्रह गरिनुपर्ने धारणा सार्वजनिक गरेपछि विवादमा तानिएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफू राजतन्त्रवादी नभएको जिकिर गरेका छन्। उनले ‘यक्ष प्रश्न’ टेलिभिजन कार्यक्रममा आफू राजतन्त्रवादी पनि नभएको र गणतन्त्रवादी पनि नभएको तर्क गरेका हुन्।

‘म राजतन्त्रवादी पनि होइन, गणतन्त्रवादी पनि होइन,’ उनले भनेका छन्, ‘म यो देशको समृद्धिवादी हुँ, म यो देशको प्रगतिवादी हुँ।’ उनले आफूले पार्टीको केन्द्रीय समितिलाई जानकारी गराएरै धारणा सार्वजनिक गरेको दाबी पनि गरेका छन्।
‘मैले पार्टीको केन्द्रीय समितिमा मेरो यो विषय, मेरा धारणा राख्छु भनेर जानकारी गराइसकेको थिएँ।

म यो विषयमा कसैलाई पनि आरोप लगाउन चाहन्नँ,’ मिश्रले भनेका छन्, तर अहिले हाम्रो पार्टीको अवस्था के हो भने हाम्रो दुइटा पार्टी एकीकरण भको हुनाले म (अध्यक्ष) पनि छु, संयोजक पनि हुनुहुन्छ। र, पार्टीको केन्द्रीय समितिमा कुनै पनि एजेन्डा लैजानका लागि हामी दुई जना सहमत भएर लैजानुपर्छ।
… उहाँ (संयोजक) को धारणा फरक रहेछ भन्ने त प्रस्ट भयो। त्यो फरक धारणालाई सम्मान गर्छु।’

केन्द्रीय समितिमा यो एजेन्डा (संघीयता खारेजी, धर्मनिरपेक्षतामा जनमत संग्रह) लाने कि नलाने भन्ने विषयमा छलफल गर्दा फरक मत रहेपछि आफूले आफ्ना धारण ईमेलमार्फत सबै केन्द्रीय सदस्यलाई पठाएको मिश्रले बताएका छन्।‘सबै जानकारी गराएँ, स्वाभाविक रूपमा १३० जना केन्द्रीय सदस्य रहेको पार्टीमा त्यो कुनै न कुनै रूपमा बाहिर त जान्थ्यो, मेरो धारणा,’ मिश्रले

भनेका छन्, ‘अब अन्ततिरबाट बांगिएर टेढिएर विभिन्न किसिमले जानुभन्दा मैले व्यवस्थित रूपमा सार्वजनिक गर्छु। त्यो पनि जानकारी दिएरै सार्वजनिक गर्छु। र, यो पार्टीभित्र मात्र होइन, पार्टी बाहिर पनि यसको बहस होस् भनेर मैले पहिलाबाट केन्द्रीय समितिलाई जानकारी दिएर अनि सार्वजनिक गरेको हुँ।’

राजाहरूको प्रतिरक्षा, माओवादीको कडा आलोचना
अन्तर्वार्ताका क्रममा रवीन्द्र मिश्रले आफू राजतन्त्रवादी नभएको जिकिर गरे पनि राजा पृथ्वीनारायण शाह र महेन्द्र शाहको जमेर प्रतिरक्षा गरेका छन्। साथै यस क्रममा उनले नेकपा माओवादीको भने कडा आलोचना गरेका छन्।

विभिन्न देशमा पनि एकीकरणका बेला हिंसा प्रयोग भएको उदाहरण दिँदै मिश्रले भनेका छन्, ‘२ सय/३ सय वर्षअगाडिका एक जना राष्ट्रनिर्माताको नाम भन्दिनुस्, जसले हिंसा प्रयोग नगरीकन राष्ट्र निर्माण गरेको होस्।… त्यो हिंसाका लागि दुःखमनाउ गर्न सकिन्छ, तर त्यो हिंसा भयो भनेर जुन धर्तीमा, जुन माटोमा आज म नेपाली भएर बाँचेको छु, अनि एकीकरणकर्ताको तपाईं खिल्ली उडाउने!’

‘समृद्ध मुलुकको समृद्ध स्टुडियो (बीबीसी) मा बसेर समाचार भन्ने र अन्तर्वार्ता ठोक्ने, परिवर्तनको आन्दोलनमा योगदान गरेको भए पो परिवर्तनप्रति अपनत्व हुन्थ्यो! मनोज चौधरीका नाममा त्यतिबेला छद्म नाममा व्यवस्थाविरोधी लेख्ने रवीन्द्र मिश्र बल्ल खास्टोभित्रबाट म्याउँ गरे! उनीहरूलाई जवाफ के?’

यसको जवाफमा उनले माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहको कडा विरोध गरेका हुन्।

मिश्रले भनेका छन्,‘…अनि भूमिगत भएर, मेरा छोराछोरीलाई लुकाएर राखेर, स्कुल पढाएर, कलेज पढाएर अर्काका छोराछारीलाई घिसोरर लेरआएर बन्दुक बोकाएर मराउनुपर्थ्यो मैले? मैले काम गरेर खान नपाउने?’

अन्तर्वार्तामा उनले आफूले सार्वजनिक गरेको धारणा (संघीयता खारेजी, धर्मनिरपेक्षतामा जनमत संग्रह) आफ्नो ब्रह्मले देखेको कुरा बोलेको र बोल्नैपर्ने जिकिर पनि गरेका छन्।