एमालेले भन्योः सांसद वलीले लगाएका सबै आरोप झुटा हुन्

बुटवल। लुम्बिनी प्रदेशकी सांसद विमला वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको भन्ने आरोपको नेकपा एमालेले खण्डन गरेको छ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘उहाँले लगाएका आरोपहरु निराधार छन्, अपहरण र बन्धक बनाउने भन्ने कुरा झुटा हुन्।’

उनले आफू पार्टी अध्यक्ष केपी ओलीले विमला वलीलाई सोधेको स्पष्टीकरणको पत्र लिएर सांसद वलीलाई भेट्न गएको र वलीले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेर चाहना राखेकाले मुख्यमन्त्री निवासमा ल्याएको दाबी गरे।

‘उहाँले जे–जे आरोपहरु लगाउनुभएको छ, ती आरोप आधारहिन छन्,’ उनले भने, ‘यसबारे हामीले आजै ४ बजे पत्रकार सम्मेलन गरेर हाम्रा कुरा राख्छौँ।’

एमालेले ४ बजे संसदीय दलको कार्यालय बुटवलमा पत्रकार सम्मेलन गर्ने उनले जनाए।