माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। बिहीबारदेखि काठमाडौंमा जारी बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने नेता रघुजी पन्तले बताए।

हिजोको बैठकमा सदस्यहरुले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि बस्न लागेको उनले जानकारी दिए। हिजोको बैठकमा विजय पौडेल, झपट रावल, रामकुमारी झाँक्री, सावित्रा भुसाल, निरा जैरु, ठाकुर गैरे र भानुभक्त जोशी लगायतले बोलेका थिए।

बैठकका सहभागी नेताहरुले पार्टीको अन्तरबिरोधका विषयमा आफ्नो धारणा राखेका थिए। बुद्धनगरस्थित क्वालिटी क्यांक्वेटमा जारी बैठकमा सहभागी अधिकांश सदस्यहरुले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन्।

बैठकमा ७३ जना केन्द्रीय सदस्य उपस्थित भएर हस्ताक्षर गरेको एक नेताले जानकारी दिए। बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट समय उपलब्ध गराइएको थियो। पार्टी एकताको सम्भावना क्षीण हुँदै गएको अवस्थामा आफू पक्षका नेताहरूको धारणा बुझ्नका

लागि नेता नेपालले केन्द्रीय कमिटी बैठक आयोजना गरेका हुन्।
बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए।