‘केपी ओलीसँग आत्मसमर्पण गर्दैनौं’- रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र सम्मानजनक वातावरण नभएसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएकी छन् । नेपाली कम्युनिस्ट आन्दोलनको विभाजन, विखण्डन र विसर्जनको जिम्मेवारी ओलीले नै लिनुपर्ने उनको दलिल छ ।

“आजको दिनसम्म केपी ओलीको करणी र कथनीमा फरक छ । उहाँलाई विश्वास गर्न सक्ने कुनै आधार छैन । उहाँले अर्काको दल पनि विभाजन गर्न खोज्नुभयो, आफ्नो दल पनि विभाजन गर्ने दुस्प्रयास गर्नुभयो,” आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रममा कु्रा गर्दै नेतृ झाँक्रीले स्पष्ट शब्दमा भनिन्, “उहाँमा गैरकम्युनिस्ट चरित्र देखिन्छ ।

उहाँको नेतृत्वमा कम्युनिस्ट आन्दोलनको पुनर्जागरण र पुनर्गठन सम्भव छैन । एकता भइहाल्यो भने पनि पार्टी चल्दैन । उहाँ नसच्चिकन, आजसम्मका राजनीतिक अपराध कबुल नगरेसम्म पार्टी यत्तिकै एकता हुन्न । पार्टी एकता आवश्यकता त हो तर ओलीसँग आत्मसमर्पण गरिँदैन ।” नेतृ झाँक्रीले ओलीसँग माधवकुमार नेपालले अध्यक्ष पद नमागेको दाबी गरिन् ।

“अध्यक्ष पद हामीले मागेका छैनौं । नवौं महाधिवेशनबाट पारित विधान एक अध्यक्षात्मक छ । यो त बूढानीलकण्ठमा दुई नेतालाई भेट गराउने बिचौलियाले फैलाएको प्रपोगान्डा हो । वार्ता समितिका कमरेड या हामीले मागेका छैनौं । हामीले त २०७५ जेठ २ गतेअघिको कमिटी, सदस्य, विधान र पद्धति मागेका हौं । दुई अध्यक्ष अराजनीतिक व्यवस्था हो,” उनले भनिन् ।

पार्टीलाई विभाजन र विघटनमा लाने ओली नैतिकतामा आधारमा अध्यक्ष पदबाट हट्नु आवश्यक भएको उनको तर्क छ । “एमालेको महाधिवेशन भएको सात वर्ष भइसकेको छ । विधानतः ५ वर्षमा महाधिवेशन गर्नुपर्ने हो । उहाँ महाधिवेशन नगरी ३५ महिनाभन्दा बढी अध्यक्ष भइसक्नुभयो । यसबाट उहाँको वैधानिकतामै प्रश्न उठिसकेको छ,” उनले थपिन्, “ओलीले

आफ्नो सरकार आफैं गिराउनुभयो । दुई तिहाई नजिकको सरकारको विघटन र पार्टी विभाजन गर्ने उहाँ एमाले अध्यक्ष हुन लायक हुनुहुन्न ।” कर्णाली प्रदेशमा विद्रोह गरेको चार जना सांसदको पद गुमेपछि पार्टीको बहुमत नभएको, लुम्बिनी प्रदेशमा सांसदलाई निवासमा बन्धक बनाएको र सरकार अल्पमतमा परेको अनि गण्डकी प्रदेशमा सरकार ढलेको जिम्मेवारी पनि ओलीले नै

लिनुपर्ने उनको भनाइ छ । दुई पटकसम्मको संसद् विघटन र संविधान च्यातचुत पार्ने कदमको जवाफ दिँदै ओलीले सारा कमीकमजोरीको जिम्मेवारी लिनुपर्ने झाँक्रीले बताइन् । “अझै पनि ओली अराजनीतिक क्रियाकलाप गरिरहनुभएको छ । दलाललाई साथमा लिएर हिँड्ने गरिरहनुभएको छ, पार्टीका नेतालाई एकले अर्को विरुद्ध प्रयोग गरेर अपमानित गरिरहनुभएको छ,” उनले भनिन्, “म नै राज्य हुँ भन्ठानेर मनोमानी गर्ने, पार्टी कब्जा गर्ने,

कमाउ धन्दा चलाउने, सांसद नभएका मान्छेलाई मन्त्री बनाउने, अध्यादेशबाट निर्लज्ज ढंगले सरकार सञ्चालन गर्ने, विखण्डनकारीसँग हातेमालो गरेर संविधानलाई च्यातचुत पार्ने काममा ओली एक्लो दोषी हुन्, अरु सहयोगीमात्र हुन् ।” माधव नेपालको नेतृत्वमा संविधानको रक्षा र संसद्ले पुनर्जीवन पाएको र ओलीको स्वेच्छाचारितमा अंकुश लगाउन सफल भएको उनको दाबी छ ।

अहिले जारी माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकमा देउवा सरकारमा जाने विषयमा कुनै छलफल नगरेको उनले बताइन् ।अब एमालेले प्रमुख प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने, गलत कामकारबाहीविरुद्ध खबरदारी गर्नुपर्नेमा उनको जोड छ । “तत्काल हामी सरकारमा जान्नौं । सरकारलाई खोप, रोजगारी, अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्छौं,” उनले भनिन्, “निर्वाचनपछिमात्र सरकारमा आउँछौं ।”

जारी बैठकमा भीम रावलले ढुलमुले नेताका रुपमा नखुइल्याएको पनि उनले जिकिर गरिन् । आफ्नो विचार व्यक्ति होइन, प्रवृत्तिमा लक्षित भएको उनको धारणा छ । अब माधवकुमार नेपाल पक्ष प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा जान्छ कि एमाले अध्यक्ष ओलीसँग सहकार्य गर्छ भन्ने प्रश्नमा नेतृ झाँक्रीले भनिन्, “पार्टीले गर्ने निर्णय व्यक्तिले भन्न सक्ने भए बैठक किन चाहियो र ? जे गर्छ, बैठकले गर्छ ।”