पहिलो संसद भवन : भित्तामा उम्रियो बर पिपल

विक्रम सम्वत् २०१५ सालमा नेपालको पहिलो संसद बैठक बसेको भवन अहिले कस्तो होला ? सिंहदरबारस्थित संसद सचिवालय परिसरमा पुग्नुभयो भने तपाईले यो भवन दयनीय अवस्थामा भेट्न हुनेछ ।

राणाकालीन ग्यालरी बैठक भवनका रुपमा रहेको नेपालको पहिलो संसद भवन सरकारी उपेक्षामा परेको धेरै भइसक्यो । ०४६ सालमा बहुदल आएपछिका तीन कार्यकाल ०४८, ०५१ र ०५६ को संसद बैठक यही भवनमा बस्ने गरेको थियो । ०६३ सालमा ६०१ जना सांसद बनेपछि साँघुरो भएकाले संसद नयाँ बानेश्वरमा भाडामा सरेको हो ।

२०७२ सालको भूकम्पले सामान्य असर पु–याएपछि यो भवन हालसम्म अलपत्र अवस्थामै छ । भवनको केही भाग भुकम्पले चर्काएको छ भने उचित संरक्षण नहुँदा भवनको भित्ताको चारैतिर बर, पिपल, चाँप, पानीअमला जस्ता वनस्पति मौलाएका छन् । भवनको छानामा प्लाष्टिक ओढाइए पनि भित्ताभरि पानी चुहिँदा भवन धराप बनेको छ । भित्ताभरि विभिन्न प्रकारका झार तथा वनस्पति ढाकिएको छ ।

भवनभित्र असरल्ल रुपमा पुराना कुर्सी, टेबल, दराज लगायतका पुराना फर्निचरका सामान थुपारिएको देख्न सकिन्छ । भूकम्पपछि सरकारले अति प्रभावित र सामान्य प्रभावित गरेर ३२ जिल्लामा भत्केका सार्वजनिक तथा निजी भवन पुनर्निर्माणका लागि भूमिका खेल्यो । तर, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयबाट झन्डै २ मिनेटको दुरीमा रहेको यो भवन हालसम्म उपेक्षामा परेको छ ।

२०७६ पुस २९ गते बसेको संसदको विकास तथा प्रविधि समितिले सो भवन भत्काएर अर्को भवन बनाउन निर्देशन दिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समितिले यो भवन भत्काएर नयाँ भवन भत्काउन निर्देशन दिएको हो । तर, ऐतिहासिक महत्वको भवन भत्काउने वा मर्मतसम्भार गरेर संरक्षित गर्ने भन्ने विषयमा ठोस निर्णय हुन सकेन ।

पुरातत्व विभागले यो भवनलाई प्राचीन स्मारक मानेको छ । यसलाई मर्मत सम्भार गर्दा होस् वा भत्काएर नयाँ बनाउँदा, यसको स्वरुप, वास्तुकला, साइज, निर्माण शैली र निर्माण सामग्री परिवर्तन गर्न नपाइने विभागको धारणा छ ।

यता संघीय संसद सचिवालयले पनि यो भवन भत्काउन चाहेको छैन । संसद सचिवालयले भवनको मर्मत सम्भार गरेर संसदीय संग्रहालय बनाउने धारणा राखेको छ । हालै सभामुख अग्निप्रसाद सापकोटाले भवनको निरीक्षण गर्दै यसलाई संरक्षण गर्न र संसदीय संग्राहालयका रुपमा विकास गर्न सुझाव दिएका छन् ।