आज नेवार समुदायले गथांमुगः चःर्‍हे पर्व मनाइदैं

भक्तपुर । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन भक्तपुर लगायत उपत्यकामा गथांमुगः चःहे पर्व मनाइन्छ । यसलाई घण्टा कर्ण पर्व पनि भनिन्छ । भक्तपुरमा शुक्रबार विशेष रुपमा मनाइँदै छ ।

उपत्यकामा रहेका नेवार समुदायले यो पर्वको दिन नयाँ घरमा तीन मुखे फलामको किला ठोक्ने गर्दछन् । बिहान घर पूजा गर्ने र साँझ टोलका सबै जना मिलेर केही पर लगेर राक्षसलाई जलाउने परम्परा रहेको छ ।

भक्तपुर नगरक्षेत्रका गल्ली गल्लीमा बडो धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । घण्टाकर्ण पर्वलाई उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा समेत मनाउने परम्परा रहेको छ ।

मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्‌वाली मिसाएर तीन खुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उध्याइन्छ ।

राती राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याइन्छ । अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टा कर्ण राक्षसलाई जलाइन्छ ।

यसरी परम्परा देखी नै अश्लिल शब्दहरूको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ । परापूर्व कालमा दोबाटो चौबाटोमा वसेर जे पायो त्यही खाने र बाटो हिंड्ने मानिससित जगत पैसा उठाई दुख दिने घण्टा कर्ण गठेमङ्‍गल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइन्छ । आजै बाट बस्तीमा लामखुट्टे आउन समेत कम हुने जनविश्वास रहेको छ ।