
काठमाडौ। ‘बिहान ब्युँझदा मेरो शरीर रातो भयो, बिहान ब्युँझिएको घामको शरीर पनि रातै देख्छु, हरेक महिना मलाई रजस्वला भएजस्तै हरेक बिहान घामलाई पनि रजस्वला हुन्छ हो?
उसो भए भर्खरै रजस्वला भएको घामले सबै जनालाई छोइरहेको छ, मैले किन कसैलाई छुन नहुने?’ कवि नवराज पराजुलीले आइतबार आयोजित ‘रजस्वला उत्सव’ मा वाचन गरेको ‘ब्रह्माजीको रजस्वला’ कविताले सबैलाई भावुक बनायो। महिनावारीको समयमा एउटी बालिकाले भोग्नुपर्ने दुःख र समस्याको चित्रण भएको त्यस कविताले समाजमा जरा गाडेर बसेको अन्धविश्वासलाई औँला उठाएको थियो।
बुकवर्म फाउन्डेसन र चौधरी ग्रुपले आयोजना गरेको ‘रजस्वाला उत्सव’ मा महिनावारी सम्बन्धित विषय र समस्यालाई लिएर छलफल भयो। कार्यक्रममा मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी, प्रजनन स्वास्थ्य विशेषज्ञ डा. लक्ष्मी तामाङ र उपन्यासकार राज सर्गमबीच उपस्थित थिए।
धर्म, राजनीति र पैसासँग जोडेर महिनावारी सम्बन्धित अन्धविश्वासलाई हटाउन गरिएको पहल र त्यसले स्वास्थ्यमा पुर्याएको असरबारे कार्यक्रममा छलफल गरिएको थियो। उपस्थित वक्ताहरूले आ–आफ्नो क्षेत्रबाट देखेका समस्या औँलाउदै त्यसलाई कम गर्न सकिने उपाय बताए।
डा. लक्ष्मी तामाङले महिनावारी बेला हुने स्वास्थ्य समस्याबारे उल्लेख गरिन्। उनका अनुसार स्वास्थ्य समस्या बढ्नुको मुख्य कारण सफा प्याडको अभाव र विशेषगरी ती समस्या काठमाडौंमा बढी रहेको देखिन्छ। ‘प्याडको प्रयोग गर्दा केही डर हुँदैन तर त्यसमा पनि ध्यान पुर्याउनुपर्ने कुरा धेरै छ,’ उनी भन्छिन्, ‘केही कारणले धेरै बेरसम्म प्याड नफेरेमा संक्रमण हुन्छ र पछि त्यसले पाठेघरको समस्या पनि निम्त्याउन सक्छ।’
कार्यक्रममा छाउ प्रथाले महिलामा पारेको नराम्रो प्रभावबारे कुरा उठेको थियो। राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीका अनुसार सुदुरपश्चिममा भएको छाउ प्रथामा अझै पनि सुधार ल्याउन जरुरी छ। वर्षौंदेखि चलिआएको छाउ प्रथा हटाउन युवाहरूले अहम् भूमिका खेल्न सक्ने उनले बताइन्। त्यसैगरी, ‘वर्ड वारियर्स’ समूहले पनि कार्यक्रममा कविता वाचन गरेका थिए। कवितामा एउटी किशोरीले आफ्नो पहिलो रजस्वलामा भोग्नुपर्ने समस्याबारे उल्लेख गरिएको थियो। महिनावारीलाई कुनै असामान्य विषय नबनाई उत्सवका रूपमा मनाउने कार्यक्रमको मूल उद्देश्य थियो।