पत्रकार धम्क्याउने मेयर चौधरीलाई योगेस भट्टराईले दिए यस्तो सुझाव

काठमाडौं। नेकपाका नेता एवम् सांसद योगेश भट्टराईले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीलाई सार्वजनिक रुपमा आत्मालोचना गर्न आग्रह गरेका छन् । भट्टराईले पछिल्लो समय चौधरीले पत्रकार र कतिपय व्यक्तिका बारेमा सार्वजनिक भएका अभिव्यक्ति उनको पद र प्रतिनिधित्व गरेको पार्टी नेकपा स्वयमका लागि नसुहाउँने कुरा भएको बताएका छन्।

‘म द्वारीकाजीको हकी स्वभाव, प्रस्ट वक्ता र इमान्दारिताको पहिलेदेखि कै प्रसंशक हुँ ।’ बुधबार भट्टराईले फेसबुकमा लेखेका छन् – ‘सार्वजनिक रुपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन विनम्र अनुरोध गर्दछु ।’

केही समय देखि चर्चामा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले फेरि इटहरीका पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन् ।फोनमार्फत् उनले नाकको हड्डी भाँचिदिन्छु भन्दै धम्क्याएको खबर अहिले भाइरल भएको छ । उनले आफूले त्यसको लागि एक करोड रुपैयाँ छुट्याएको समेत्त बताए । अडियो रेकर्ड अनुसार चौधरीले अनुपमलाई आफूले नाकको हड्डी भाँच्न घडेरी छुट्याएको बताएका हुन् ।

जथाभावी लेखेको भन्दै उनले पत्रकारप्रति आक्रोश व्यक्त गर्दै आएका छन् । पत्रकार अनुपमको स्टाटसमा प्रतिक्रिया जनाउँदै केही समयअघि मेयर चौधरीले ‘अब तेरो पालो’ भनेर लेखेका थिए । उनले कमेन्टमा ‘चाटुकार’ भनेर कमेन्ट गरेका थिए। जे पायो त्यही लेखेको भन्दै सोही विषयमा स्पष्ट हुन फोन गर्दा धम्की आएको बताइएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ सुनसरीले भने घटनाको भर्त्सना गरेको छ । यता मेयर चौधरीले पनि धम्की दिएको स्वीकार गरेका छन् । उनले बारम्बार आफूलाई पागल, बद्मासलगायत भन्दै तथानाम गाली गलौज गरेर सताइरहेपछि सहन नसकी धम्की दिएको बताए ।

उनले केही पत्रकारहरु पार्टी र व्यापारिक स्वार्थबाट प्रेरित रहेको र आचारसंहिता बारम्बार उल्लंघन गरेको आरोप उनको छ । केही पत्रकार जानी जानी मेयरलाई सन्काएर विवादमा ल्याइ बद्नाम गर्नुपर्छ भनेर लागिपरेको उनले स्पष्ट पारेका छन् ।उनले सञ्चार क्षेत्रलाई आफूले सम्मान गर्ने जनाउँदै पीत पत्रकारिता गर्ने, फोन गरेर धम्क्याउने पत्रकारलाई केही दिनमै कारवाही गर्ने समेत चेतावनी दिए ।