कोरोनासँग मिल्दोजुल्दो स्क्रब टाइफसदेखि सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । कोरोना भाइरससँग मिल्जोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिलेको सिजन स्क्रब टाइफस रोग फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस देखिन थालेको जानकारी दिए । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने,

खोकी, बान्ता, पेट दुखाइ र पखाला लाग्ने, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्छन् । डा अधिकारीले मानिसले पछिल्लो समय कोरोनालाई खासै वास्ता नगरेको र लक्षण देखिहालेमा अन्य कामलाई बाधा हुने

डरले परीक्षण नगराउने गरेको जानकारी दिए । उनले कोरोना हो भनेर बसेमा स्क्रब टाइफस हुने र त्यसले अन्य अङ्गलाई असर गर्ने हुँदा परीक्षण गर्न सुझाव दिए । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले स्क्रब टाइफस ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एकप्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने

रोग भएको जानकारी दिँदै यसले मस्तिष्क, कलेजो, फोक्सोमा सङ्क्रमण हुने बताए । स्क्रब टाइफस रोग समयमै पहिचान भएमा औषधि सेवन गर्दा निको हुने र हेल्चेक्र्याइँ गरेको अवस्थामा मृत्युसम्म गराउन सक्ने चेतावनी दिइएको छ । स्वास्थ्य मन्त्रालयले स्क्रब टाइफस रोगको लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो

भएकाले कोरोना परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ ।