महँगीको मारमा चेपिँदै उपभोक्ता, बेवास्ता गर्दै देउवा सरकार

दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु गरी बढेको छ । शेरबहादुर नेतृत्वको नयाँ सरकार बनेपछि विस्तार हुन नसकेको मन्त्रीमण्डलसँगै उपभोक्ताको भान्सा पनि गन्जागोल भएको हो । दैनिक उपभोग्य वस्तुमा तरकारीदेखि खानेतेल र अण्डा लगायत अन्य वस्तुसम्मको मूल्यवृद्धि देखिएको छ ।

अदालतको आदेशससँगै देशको प्रधानमन्त्रीमा यही वर्षको असार २८ गते देउवा नियुक्त भएपछि उनले मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । जसमा कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालयजस्तो जिम्मेवार मन्त्रालय मात्र नभई चाडपर्वको समयमा जिम्मेवार भूमिकामा रहने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत रिक्त छ ।

सर्वोच्च अदालतले नेकपामा माओवादी केन्द्र छाडेर एमालेमा विलय भएका गैरसांसद मन्त्रीलाई जिम्मेवारीमा नराख्नु भन्ने आदेश दिएपछि रिक्त भएको उद्योग मन्त्रालय अहिलेसम्म रिक्त छ । अदालतले यही वर्षको जेठको पहिलो सातामा यस्तो आदेश दिएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् गठन गरेपनि त्यो तीन सातासम्म मात्रै कायम भयो ।

त्यसैले, जेठको पहिलो सातादेखि नै रिक्त भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अहिलेसम्म मन्त्रीविहीन छ । यस्तो बेलामा बजारमा तरकारीदेखि खानेतेल लगायत अन्य वस्तुको मूल्य बढेको छ । यसलाई नियमन गरेर आवश्यक निर्णय लिनुपर्ने समयमा देउवा सरकारले उपभोक्ताको ढाड सेकिनेगरी बढेको मूल्यवृद्धिलाई बेवास्ता गरिरहेको छ ।

नेपालीहरूको विषेश पर्व दशैं र तिहार तथा छट आउनै लाग्न बजारमा कालोबजारी सल्बलाउनुका साथै मूल्यवृद्धि अनियन्त्रित हुनेगरी उकालो लाग्छ ।यस्तो समयमा उपभोक्ता र बजार तथा व्यापारीसँग प्रत्यक्ष जोडिने उद्योग मन्त्रालय नै खाली हुँदा बजारमा प्रत्यक्षरूपमा बिचौलिया हाबी भएका छन् । यस्तै, उत्पादक आफ्नो खुसीले मूल्य तोक्दै बसेका छन् ।

नयाँ सरकार बन्नुअघि र पछि तरकारीको मूल्य