यति सुन्दर बन्यो नेपाली इन्जिनियरले डिजाइन गरेको मुग्लीनको पुल (भिडियोसहित)

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवन र तनहुँ जोड्ने मुग्लीनमा निर्माणाधीन आर्क ब्रिज निकै आकर्षक देखिएको छ । निर्माण कार्यको अन्तिम चरण मा पुगेको नेपालकै दोस्रो नमुना आर्क ब्रिजको रुपमा बन्दै गरेको सो पुलमा असारको दोस्रो साताबाट गाडी गुडाउने योजनाका साथ काम भइरहेको हो । पुलको सबै काम भइसकेको तर, तनहुँ पट्टि एप्रोचको काम बाँकी रहेको छ । ‘सबै काम सकिसक्यो, तनहुँपट्टिको एप्रोच २ मिटर होचो भएकोले त्यही काम भइरहेको छ, त्यो पुरा भएपछि पेन्ट सकेर लगतै गाडी गुडाउने छाैँ,’पुल योजना क्षेत्र नम्बर २ का योजना प्रमुख अंगलाल रोकायाले भने ।

पुल निर्माणका लागि विश्व बैंकको १२ करोड रुपैयाँ लगानी गरेको छ । मुग्लीन आर्क ब्रीज निर्माणमा लागेको खर्च मध्य १ करोड रुपैयाँ मात्र भुक्तानी गर्न बाँकी रहेको रोकायाले बताए । सो पुल १ सय ६० मिटर लम्बाई र ११ मिटर चौडाईको बनेको छ । २०७१ सालबाट निर्माण सुरु गरिएको सो पुल २०७५ साल फागुनमा पुरा गरि सञ्चालनमा ल्याउने गरि ठेक्का लगाइएको थियो । तर पुल निर्माण सम्पन्न गर्न ठेकेदारले थप समय मागेकाले दुई महिना समय थपिएको थियो । पुरानो पुल जीर्ण भएपछि मुग्लिन नयाँ पुल निर्माण गरिएको हो ।