एमालेमा ७० वर्षे उमेर हद कायमै राख्ने, ओली एक कार्यकाल अध्यक्ष हुने

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) दशौं महाधिवेशनको तयारीमा जुटेको छ । अहिले उपमहासचिव विष्णु पौडेल विधान लेखनमा सक्रिय भएका छन् । एमालेले पार्टीमा ७० वर्षे उमेर हद कायमै राख्नेगरि विधान तयार पारेको छ ।

पार्टीमा ७० वर्षे उमेर हद लागु भएपनि अध्यक्ष केपी शर्मा ओलीलाई एक कार्यकाल अध्यक्ष बन्न कुनै बाधा नहुने नेताहरुको बुझाई छ । एमालेले आगामी मसिरमा महाधिवेशन गर्ने मिति तय गरेको छ। तर, अध्यक्ष ओली भने आगामी फागुनमा मात्रै ७० वर्ष टेक्छन् ।

यसले गर्दापनि ७० वर्षे उमेर हदले ओलीलाई अर्को पटक अध्यक्ष बन्नको लागि कुनै बाधा नहुने नेताहरुको भनाई छ । ओली आँफैले दशौं महाधिवेशनमा अध्यक्षमा उठ्ने वा नउठ्ने भनेर अहिलेसम्म सार्वजनिक रुपमा भनेका छैनन् । तर, उनीनिकट नेताहरु भने दशौं महाधिवेशनमा ओली नै उठ्ने जनाएका छन् ।