माओवादी छोटो समयमा सबैभन्दा बढी मन्त्री बनाउने पार्टी भएछ : दाहाल

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माथिल्लो स्तरका नेतामा विचलन आएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पोस्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले अझै पनि जनतामा क्रान्तिप्रति रुचि रहेको बताएका हुन् ।

पुस ५ गतेको प्रतिगमनपछिको आन्दोलनले लाखौंको संख्यामा क्रान्तिका लागि जनता सडकमा आउन तयार रहेको देखाएको दाहालले बताए । अध्यक्ष दाहालले माओवादी फेरि देशको नम्बर एक पार्टी बन्न सक्ने पनि बताए ।

पछिल्ला आन्दोलनले माओवादी पुन: शक्तिमा फर्किन सक्छ भन्ने देखाएको उनको भनाइ छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने पार्टी माओवादी मात्रै रहेछ भन्ने स्थापित भयो । हामी आउँछौं र हामीले देशको नेतृत्व गर्ने वातावरण बन्छ । हामीले राम्रोसँग देशको नेतृत्व गर्न नपाई नपाई १५ वर्ष बित्यो । दुई पटक सरकारको नेतृत्व पनि गर्‍यौं, मन्त्री पनि बनायौं । १०० जना कमरेडहरु मन्त्री भइयो । सबैभन्दा बढी मन्त्री बनाउने पार्टी पनि हाम्रै पार्टी भएछ छोटो समयमा,’ उनले भने ।

आफूहरु इमान्दार भएर लाग्दा कसैले रोक्न नसक्ने पनि उनले बताए । संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिने पनि उनले बताए । गठबन्धनलाई निरन्तरता दिँदा आगामी चुनावमा दुई तिहाई मत ल्याउने उनको दाबी छ ।