१२ कक्षाको परीक्षा दिने सबै भाइबहिनीलाई शुभकामना छ : करिश्मा

काठमाडौं । आजबाट सुरु भएको कक्षा १२ को वार्षिक परीक्षामा सहभागी करिब ३ लाख ७४ हजार परिक्षार्थीहरुमध्येकि एक हुन्, चर्चित अभिनेत्री करिश्मा मानन्धर । बिहानको सिमसिमे झरीमा छाता ओढेर परीक्षा हलतर्फ लम्किँदै गर्दा उनी हाम्रो क्यामरामा कैद भइन् ।

मुखमा मास्क र कलेज ड्रेसमा भएकाले अरू परीक्षार्थीभन्दा फरक देखिइनन् करिश्मा । होमसेन्टरका रूपमा रहेको गोदावरीस्थित किटिनी माविमा छिर्नुअघि उनले गेट बाहिर टाँसिएको सूचनामा आफ्नो सिट नम्बर चेक गरिन् । अनि प्रवेशपत्र देखाउँदै भित्र छिरिन् ।

परीक्षाहल भित्रै उनको तस्वीर खिच्न जान खोजेका सञ्चारकर्मीलाई भने अनुमति दिइएन । परीक्षा दिन जानुअघि करिश्माले भनिन् ‘यो वर्ष हामी कलेज नै जान पाएका छैनौं, त्यसैले प्राक्टिसको कमिले परीक्षामा लेख्न अलि स्लो होला कि जस्तो लागेको छ,’ ।

उनले भनिन् ‘सबै मेरा भाइबहिनीहरुलाई परीक्षा राम्रो होस भनेर शुभकामना दिन चाहन्छु । धेरै प्रेसर महसुस नगर्नुस । सबै प्रश्नहरुको उत्तर दिने प्रयास गर्नुस’।