पार्टी विभाजनबाट एमाले घाइते भएको छ : घनश्याम भुसाल

बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको बताएका छन् । पार्टी विभाजन भएर पछारिएर घाइते भए पनि एमाले अहिले पनि सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको उनको भनाइ छ ।

रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं ।’

२०७४ सालको चुनावमा पार्टीको वर्चस्व फेरि फर्काउने उनले दाबी गरे । चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पूँजीवाद हाबी हुँदै गएको टिप्पणी गरे । उनले पार्टीभित्र र बाहिर दलाल पूँजीवादविरुद्ध लड्नुपर्ने खाँचो रहेको बताए । पार्टी विभाजनका विषयमा समीक्षा हुनुपर्ने भुसालले बताए ।