नेहा कक्कडले प्रस्तुति दिँदा ठमेलमा तनाव, तीन जना पक्राउ

काठमाडौं। बलिउड गायिका नेहा कक्कडको प्रस्तुति चल्दै गर्दा राजधानीको ठमेलमा गएराति तनाव भएको छ । आयोजकले क्षमता भन्दा बढी टिकट विक्रि गरेपछि दर्शकले विवाद गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले कार्यक्रमस्थल लड अफ ड्रिंस क्लबमा क्षमता भन्दा बढी टिकट वितरण हुँदा अवस्था असहज भएपछि तीन जनालाई नियन्त्रणमा लिएका हुन्।

पक्राउ पर्नेमा कार्यक्रमका आयोजक दीपक घिमिरे तथा लर्ड क्लबका सञ्चालक भुपेन गिरि र अर्का एक जना संचालक रहेका छन् । उनीहरुलाई सोह्रखुट्टे बृत्तमा थुनामा राखिएको जनाइएको छ । गायिका नेहा आफ्नो प्रस्तुति दिनका लागि पहिलो पटक काठमाडौंका आएकी थिइन् ।

२५ सय दर्शक क्षमताको लर्ड अफ ड्रिङ्क्समा आयोजकले क्षमता भन्दा धेरै टिकट वितरण गरेको प्रहरी भनाई छ । ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी थिइन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गरेको हो।