
धनगढी। दिनमा ४१ डिग्री सेल्सियसको तातो। वरपर रुखको शीतल र हावा लाग्ने ठाउँ खोज्ने बालबालिका थुप्रै छन्।
यो दृश्य हो, प्रदेश सरकारका मुख्यमन्त्रीको कार्यालय र निवासभन्दा अलि परको। गत बिहिबार आएको हावाहुरीले घरबारविहीन बनाएको छ उनीहरुलाई। रातमा गर्मी कम भएपनि लामखुट्टेले एकछिन छोड्दैन।
हावाहुरीले घरबारबिहिन बनाएको ४ दिन बितिसक्दा पनि उनीहरुले टाउको लुकाउने पालसमेत पाएका छैनन्। शिर छोप्न घर छैन’ धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाइ बस्ने प्रताप कुँवरले भने, ‘सरकारले शिर छोप्न त्रिपाल पनि दिएको छैन।’
जेठ २३ गते आएको विनाशकारी हावाहुरीले उनको घर उडाएपछि कहाँ बस्ने भन्ने समस्या छ। शनिबार वडा कार्यालयले त्रिपाल सो वडामा वितरण गर्ने भनेर १५ थान त्रिपाल लगेको थियो।
आफ्नो नाम पहिलोमै सिफारिस भएको देखेपछि उनी त्रिपाल लिन बसे। तर, रित्तो हात फर्कनु पर्यो। उनीमात्र होइन, हावाहुरीले घरमा पूर्ण रुपमा क्षति पुर्याएका सोही वडाका दानबहादुर नेपाली, गोपीसिंह अधिकारीसहित १० जनाले त्रिपाल नपाएको गुनासो गरे। गोपीसिंह अधिकारीले भने, ‘सिफारिसमा नाम थियो। तर, वडा कार्यालयले आएको त्रिपाल आफ्नै मान्छेलाई मात्र वितरण गर्यो।’
चतुर्भुज चौधरीको घरको पुरै छाना हावाहुरीले उडाएपछि उनको परिवार पनि खुला आकाशमुनि दिनरात बिताउन बाध्य छ। ‘भन्नलाई यो देशमा ३ वटा सरकार छन् भन्छन्’ चौधरीले भने, ‘तर अहिलेसम्म हामीले सरकार देख्न र महसुस गर्न पाएका छैनौ।’
वडा नम्बर १५ उर्मीकी तुल्सी बोगटीको पनि अवस्था उस्तै छ। ‘हावाहुरीको केही बाँकी राखेको छैन,’ उनले भनिन्, ‘छाना उडाएर लग्यो, खाद्यान्न नष्ट भयो। लगाउने लुगा पनि बाँकी राखेन।’
धनगढी कनरीका ७५ वर्षीय पञ्चराम चौधरीका चार छोराको घर हावाहुरीले पूर्ण रुपमा क्षतिग्रस्त छ। चार वटैको घरको छानो छैन। उनी छोराहरुको परिवारको बिचल्ली देखेर चिन्तित थिए। ‘एउटालाई मात्र समस्या परेको भए अरु भाईले सहयोग गर्थे। चारै जना समस्यामा छन्। कसले सहयोग गर्ने?’
छोराहरुको बिचल्ली सुनाईरहँदा वृद्ध पञ्चरामका आँखामा आँसु टिल्पिलाईरहेका थिए। घरको छाना र भित्ता उडाएर लगेका कारण अधिकांश परिवार खुला आकाश मुन्तिर रात बिताउन बाध्य छन्।
धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलका धर्मराज ओझाले आफन्तको घरमा साहारा लिएर बसेको बताए। ओझाले भने, ‘हुरीले छानो उडाएको चार दिन भइसक्यो राहतको नाममा एउटा त्रिपाल मात्रै आएको छ, के गर्नु खानलाउन केही बाँकी राखेन। स–परिवार आफन्तको शरणमा बाँचिरहेका छौ।’
अर्का स्थानीय रामदिन चौधरीले आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश परिवारको बिचल्ली भएको बताए।
धनगढी उपमहानगरपालिका-६ मा आइतबार त्रिपाल बोकेर नेपाल रेडक्रस सोसाइटीको टोली पुग्यो तर, उनले पाएनन्। ‘वडा कार्यालयलै मसहित आठ जनाको नाम दिएको थियो। वडा कार्यालयलै सिफारिस गरेकामध्ये चार जनाले मात्र त्रिपाल पाएको र अन्य खुल्ला आकाशमुनि बस्न बाध्य हुनुपरेको छ।’
कैलालीको उर्माको बेली, पटेला, पथरी, कनरी, बेली बजारमा सबैभन्दा बढी घर प्रभावित भएका छन्। घरको छाना र भित्ता उडाएर लगेका कारण अधिकांश परिवार खुला आकाश मुन्तिर रात बिताउन बाध्य छन्। नवजात शिशु र सुत्केरी सबैभन्दा बढि समस्यामा परेका छन्।
कैलालीमा दुई हजार २ सय १६ घरधुरी विनासकारी हावाहुरीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। प्रशासन कार्यालयका अनुसार घरमा पूर्ण रुपमा क्षति भएका प्रभावितहरुलाई त्रिपाल वितरण गर्ने काम जारी भइरहेको छ। ‘शनिबार गोदावरीमा पाँच सय २०, धनगढीमा एक सय ५० र अन्य स्थानीय तहमा त्रिपाल वितरण गरिएको थियो,’ सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘आईतबार कैलारी गाउँपालिकामा ६ सय १ र धनगढी उपमहानगरपालिकामा ६५ त्रिपाल वितरण गरिएको छ।’
विद्युत नहुँदा जनजीवन तहसनहस
बिहीबार रातीको विनाशकारी हावाहुरीले विद्युत अबरुद्ध हुँदा धनगढी बजारको जनजीवन अस्तव्यस्त बनेको छ। लगातार ४ दिनदेखि अवरुद्ध विद्युतसेवा अझै पूर्ण रुपमा सुचारु हुन सकेको छैन।
विनाशकारी हावाहुरीका कारण विद्युत अवरुद्ध हुँदा चार दिनदेखि खानेपानी समेत बन्द भएको छ। धनगढी गर्मीमा विद्युत नहुँदा आर्थिक अवस्था कमजोर भएका अधिकांश परिवारको बिचल्ली भएको छ, भने महामारी फैलनै त्रास बढेको छ।
प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीका उद्योग व्यवसायीहरु चौपटमा परेका छन्। विद्युत अवरुद्ध हुँदा साना होटल व्यवसायीहरुले होटल नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका छन्।
‘बत्ती आउदैन, चर्को गर्मी छ, आएका ग्राहक पनि फर्केर जान्छन्,’ स्थानीय होटल व्यवसायी शैलेन्द्र शाहीले गुनासो गरे। उनले विद्युत अवरुद्ध हुदा होटलमा खानेपानी, फ्रिज, पंख्खा सञ्चालन हुन नसक्दा होटल नै बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए।
सयौं संख्यामा रहेका सुदूरपश्चिमका उद्योग कलकारखाना ४ दिनदेखि पूर्ण रुपमा बन्द हुँदा ठुलो घाटा व्यहोर्नु परेको प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष शंकर बोगटीले बताए।
‘सुदूरपश्चिम प्रदेशमा त्यसै त थोरै संख्यामा उद्योगधन्दा सञ्चालनमा छन्,’ बोगटीले भने, ‘लगातारको विद्युत अवरोध हुँदा करोडौं नोक्सानी भएको छ।’
यता नेपाल विद्युत प्राधिकरण धनगढीले हावाहुरीले ढलेका पोलहरु गाड्ने र लाईन मर्मत सम्भारको काम तीव्र रुपमा चलिरहेकाले सबै क्षेत्रमा चाडै विद्युत सुचारु हुने जानाएको छ। विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले हावाहुरीका कारण अवरुद्ध भएको लाईन मर्मत सम्भारको काम अन्तीम चरणमा पुगेको बताए।