‘एमसीसीको विरोध विकास नचाहने मानिसले गरेका हुन्’- पूर्वमन्त्री गौचन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीले दुई जिब्रे राष्ट्रवादले नेपालको विकासमा अवरोध गरिरहेको बताएका छन् । उनले एमसीसीबारे जनतामा नकारात्मक कुरा प्रचार भइरहेको उनको आरोप छ ।

नेता थकालीले भने, “म कहिलेकाहीँ अचम्मित हुन्छु, एमसीसीको विवाद किन यति धेरै लम्बिएको छ ? म वाणिज्य मन्त्री हुँदा मन्त्रिपरिषद्ले बीआरआई सर्वसम्मत रुपमा पारित गरेको थियो । त्यतिबेला पनि चिनियाँ सेना आउँछ, क्षेत्रीय असन्तुलन ल्याउँछ भन्ने विवाद थियो । अहिले एमसीसीबारे पनि त्यस्तै हल्ला चलाइएको छ । मुस्ताङमा अमेरिकन सेना आउँछ रे । यस्ता प्रोपागन्डा विकास नचाहने मानिसले गरेका हुन् । उपाध्यक्ष स्वयं आएर यो सैन्य रणनीतिसँग सम्बन्धित छैन भनेर भनिसकेपछि विवाद बेकार हो ।”

नेता थकालीले एमसीसीबारे संसद्भित्रै बहस गर्नुपर्ने बताए । उनले भने, “मुलुकको अहित सम्झौता भएको छ भने त जनताको उच्च आवाज बोल्ने सार्वभौम संसद्मा पो बृहत् छलफल गर्नुपर्छ । यो कसैको चाहनाभन्दा पनि संसद्को चाहनामा भर पर्छ । भारतमा गाली गरेर मात्र हामी कसरी राष्ट्रवादी हुन्छौं ? चिनियाँ सुरक्षा थ्रेटलाई आत्मसात नगरे हामी कसरी असल मित्र हुन सक्छौं ? मलाई कसैप्रति ओठे भक्ति देखाउनु छैन । म नागरिकवाद, लोकतन्त्रवाद र मुस्ताङवादमा विश्वास गर्छु ।”

उनले देशलाई अधोगतिमा धकेल्नेहरुले अनावश्यक विवाद निम्त्याइरहेको बताए । उनले थपे, “नेपाली जनतालाई किन यति नकारात्मक कुरा प्रचार भइरहेको छ ? दुई जिब्रे राष्टवादले नेपालको विकासमा धेरै अवरोध भयो । एमसीसी मैले पनि पढेको छु । यी प्रोपागन्डा चलाउनेहरुको सूचनाको स्रोत के हो ? हिजो आफैं संसद्मा एमसीसी ल्याउने अनि आज पास गर्न हिचकिचाउने किन ? हाम्रै महालेखा परीक्षकले अडिट गरेको छ भने कसरी यो अमेरिकाले चलाउँछ भन्ने ?”