काठमाडौंमा दशैं लक्षित खोप अभियान शुरू

राजधानीको बजार क्षेत्रमा भीडभाड बढ्न थालेको भन्दै सर्वत्र विरोध हुन थालेपछि कोभिड संक्रमण रोक्न काठमाडौं महानगरपालिकाले दशैंलक्षित तीनदिने खोप अभियान शुरु गर्ने भएको छ । ललितपुर महानगरपालिकाले हिजो बुधबारबाट सबै वडामा तीन दिनसम्म खोप अभियान शुरु गरेको छ भने कामपाले असोज २२ देखि शुरु गर्ने भएको छ ।

कामपा जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कुँवरले तीनदिने अभियानमा यसअघि पहिलो मात्रा लगाउन नभ्याएका महानगरवासीलाई सहभागी हुन आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘यो दशैं लक्षित अभियान हो, तिहार र छठमा पुनः अभियान सञ्चालन गर्नेछौँ ।’ उहाँका अनुसार अभियान शुरु भएयता हालसम्म कामपाबाट करिब ८ लाख जनसंख्यालाई

कोभिडविरुद्धको खोप लगाइसकिएको छ । विभागीय प्रमुख कुँवरले तीनदिने अवधिमा १८ वर्ष उमेरमाथिका करिब ८० हजार जनसंख्यालाई खोप लगाउने योजना रहेको बताउनुभयो । कामपाले यसअघि असोज ११ गतेदेखि तीन दिनसम्म अभियान सञ्चालन गरेको थियो । कामपाले बढी भीडभाड हुने क्षेत्रका बासिन्दालाई खोप लगाउन आग्रह गरिरहेको छ ।

दशै शुरू भएलगत्तै असन, इन्द्रचोक, मखन, भोटाहिटी, न्युरोड, कालिमाटी, बल्खु, बानेश्वर, कोटेश्वर, बालाजु बसपार्कलगायतका क्षेत्रमा सयौं जनताको भीड बढ्न थालेपछि कामपाले स्थानीयलाई सार्वजनिक अपिल गरेरै खोप लगाउन आग्रह गरेको हो । खोप अभियानअन्तर्गत ३२ वडाका ३४ सहित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी

अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनी गरी पाँचवटा अस्पतालबाट खोप लगाउने व्यवस्था गरिएको छ । कामपाले अनलाइन फारम भरेका र नभरेकालाई पनि खोप लगाइदिने भएको छ । उता ललितपुर महानगरपालिकाले बुधबारदेखि असोज २२ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरेको छ ।

ललितपुर महानगरपालिकाका खोप शाखा प्रमुख सरिता महर्जनले २९ वटै वडाको खोप केन्द्रमा खोप लगाउन शुरु गरेको बताउनुभयो । ललितपुर महानगरले दशैंलगत्तै पुनः खोप कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ । खोप कार्यक्रम शुरु भएदेखि ललितपुर महानगरले मात्र करिब १ लाख ९९ हजार १ सय ७२ जनालाई खोप लगाइसकेको छ ।

कामपा र ललितपुर महानगरपालिकाले आफ्नो वडाबाहेक जिल्ला जनस्वाथ्य कार्यालयबाट छुट्टै खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । राजधानीको दुई महानगरपालिकाले दशैं लक्षित खोप अभियान शुरु गरेपछि राजधानीमा कोभिड–१९ संक्रमितको संख्या घट्दै जाने अनुमान गरिएको छ । पछिल्लो एक महिनायता काठमाडौं र ललितपुरमा दैनिक करिब २ सयको हाराहारीमा संक्रमित देखिन

थालेको छ । यो संख्यालाई शून्यमा पुर्‍याउन दुवै महानगरले खोप अभियानलाई वडास्तरमा केन्द्रित बनाएको छ ।