दीपेन्द्र ढकाल अन्तर्राष्ट्रिय निर्णायकमा छनोट

काठमाडौं : दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामावादमा कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायकमा छनोट भएका छन्। यस्तै कात्तिक २६ देखि २८ गतेसम्म फ्रान्समा हुने फ्रेन्च इकोपेन विश्व वरीयता तेक्वान्दो प्रतियोगिताको पनि निर्णायकमा छनोट भएका छन्।

एसियन तेक्वान्दो युनियन र युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा ढकालको छनोटको गरिएको जानकारी नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख शशिकिरण रायमाझीले दिए। चीनको वुहानमा २०७६ कात्तिकमा सम्पन्न सातौं। विश्व सैनिक खेलकुद प्रतियोगिता र आर्मी ओलम्पिकमा समेत उनी निर्णायक मण्डलमा थिए।

चीनकै उसी शहरबाट २०७४ सालमा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गरेका ढकाल काभ्रे कुशादेवीका स्थायी बासिन्दा हुन्। स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका उनले काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुद (साग) र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरीयता खेलकुद जी टु प्रतियोगितामा रेफ्रीको भूमिका निभाइसकेका छन्। ‘खेलकुदमा सफल हुन सानैदेखि परिवारको साथ सबैभन्दा महत्वपूर्ण हुन्छ।

त्यसमा आफूभित्र लगाव र उच्च मेहनत गर्ने बानी भयो भने झन् सजिलो हुन्छ’, ढकालले सफलताको रहस्य खोल्दै भने, ‘म भाग्यमानी थिएँ। मलाई परिवारले राम्रो साथ दियो।’ ढकालको रेफ्री यात्रा खेलाडीबाटै सुरु भएको हो। ढकालले २०५८ सालदेखि नै निरन्तर रूपमा तेक्वान्दो खेल्न थालेका हुन्। उनले जिल्लाका विभिन्न प्रतियोगिता हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने अवसर पाए।

यसै क्रममा २०६९ सालमा नसोचेको दुर्घटनामा परे। जसले गर्दा उनले आफ्नो खेलाडी करियरबाटै बिदा लिनुपर्ने बाध्यता आयो। तेक्वान्दो खेल्दै गर्दा आँखाअघि देखिने ती सपनाहरू एकाएक टाढा भए। उनी भन्छन्, ‘२०६९ सालमा रंगशालामा ट्रेनिङ गर्ने क्रममा खुट्टामा लागेको चोटका कारण मेरो देब्रे खुट्टामा ठूलै समस्या देखियो। खुट्टाको समस्याले गर्दा मैले खेलाडी जीवनबाट बिदा लिएँ।’

त्यतिबेला उनको खुट्टाको ठूलै शल्यक्रिया गर्नुपर्ने अवस्था आयो। हल्का ब्यायाम गर्न मिल्ने भएपछि रेफ्री गरौं भन्ने हिसाबमा उनी अघि बढे। २०७० सालबाट रेफ्रीका रूपमा उनी तेक्वान्दोका विभिन्न खेलहरूमा देखा पर्न थाले। उनको त्यही निर्णयले उनलाई अन्तर्राष्ट्रिय रेफ्रीको उचाइमा पुर्‍यायो। ‘सायद यो मौका खेलाडी हुँदा पाउने थिइनँ होला’, उनले भने। कुनै पनि खेलमा सेकेन्डमै निर्णय गर्नुपर्ने हुँदा रेफ्री पेशा त्यसै पनि कठिन रहेको उनको

अनुभव छ। ‘रेफ्री अपजसी काम हो। यसलाई निभाउनु निकै कठिन हुन्छ’, उनले भने, ‘आफू सहनशील, सभ्य र साहसी हुनुपर्छ। एरिनामा तटस्थ भएर निर्णय गर्नुपर्छ।’ उनले दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय निर्णायक बन्न थप चार अंक मात्रै जोड्न बाँकी छ। यसका लागि आठ अंक जोड्नुपर्नेमा चार अंक उनले पहिल्यै जोडिसकेका छन्। हालसालै मात्रै दीपेन्द्रले विश्व तेक्वान्दोअन्तर्गत दोस्रो विश्व तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय

ग्योरोगी रेफ्री रिफ्रेसर कोर्स उत्तीर्ण गरेका थिए। ओलम्पिक खेलमा निर्णायकको भूमिका निभाउने ढकालको लक्ष्य छ। यसका लागि धेरैभन्दा धेरै खेलमा निर्णायक बन्नु आवश्यक छ। तर, कोरोना महामारीले खेल जगतमा पुर्‍याएको प्रभावले आफ्ना लक्ष्य हासिल गर्न केही समय लाग्ने उनले बताए।