आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभरका पाँच वर्षमुनीका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। आज खान छुटेका बालबालिकालाई भोलि खुवाइने सरकारले जनाएको छ। त्यसका लागि देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ। स्थानीय पालिकाहरुले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले सबै अभिभावकलाई अनुरोध गरेको छ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

आएको छ। गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका रोकिएको थियो। बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ। जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ। १५ बहुसूक्ष्म पोषण तत्वले बनेको
बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने

गरिन्छ। बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो।