नेपालको १ सय १९ रनको शानदार जित

काठमाडौं । टी–२० एसिया छनोटको तयारी स्वरूप कतारसँगको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टीमले १ सय १९ रनको शानदार जित निकालेको छ ।

१ सय ४८ रनको लक्ष्य पछ्याएको कतारको राष्ट्रिय महिला टोली ११.५ ओभरमा सबै विकेट गुमाएर जम्मा २७ रनमा समेटियो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका रुबिना क्षेत्रीले तीन, कविता कुँवर र सीता रानमगरले दुई–दुई तथा करुणा भण्डारीले एक विकेट लिए ।त्यसअघि दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टास हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर

१ सय ४६ रन बनायो । उसका लागि इन्दु वर्माले ५५ रन बनाउँदै अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै सीता राना मगरले ३९ रन जोड्दा सरिता मगरले २१ तथा कविता कुँवरले ८ रन जोडिन् ।
नेपालले आईसीसी वुमन्स टी–२० एसिया छनोटका खेल खेल्न

मंसिर ३ गते युएई जानेछ । पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ भने मंसिर ७ गते भुटान र ९ गते कुवेतसँग खेल्ने तालिका छ ।

कतारसँगको प्रतिस्पर्धा पछि नेपालको लक्ष्य वुमन्स टी–२० एसिया छनोटमा सहभागी हुँदै शीर्ष स्थानमा रहनेछ । नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्रले छनोटमा सहभागिता जनाउनेछन् ।

शीर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउनेछ ।