‘एमालेविरुद्ध पाँच होइन, १ दशमलव ४ दल लागेको हो’- महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेविरुद्ध पाँच दल नभएर १ दशमलव ४ दल लागेको बताउनुभएको छ ।युवा संघको साइबर सर्कल घोषणा कार्यक्रममा नेता बस्नेतले एमालेविरुद्ध पाँच दल लागेको भनेर गरिएको प्रचारलाई गलत भएको बताउनुभयो ।

‘अहिले एमालेविरुद्ध पाँच दलको गठबन्धन बनेको भनिएको छ,’ उहाँले भन्नुभयो, ‘तर, त्यो पाँच दल होइन, १ दशमलव ४ दल हो, एउटा दल कांग्रेस हो भने बाँकी चार दल भनेको शून्य दशमलव ४ हुन् ।’ सांसदसमेत रहनुभएका नेता बस्नेतले आगामी निर्वाचनमा नेकपा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै

कांग्रेस अहिले ल्याएको भन्दा पनि आधामा खुम्चने बनाउनुभयो ।उहाँले भन्नुभयो, ‘अब आउने निर्वाचनमा एमाले दुई तिहाई, कांग्रेस हाफ हुनेछ भने माधव नेपाल र प्रचण्ड पत्तासाफ हुनेछन् ।’ सांसद बस्नेतले अबको निर्वाचनपछि नेकपा एमालेले बहुमत ल्याएर पुनः केपी शर्मा ओलीले देशको नेतृत्व गर्ने बताउनुभयो ।

उहाँले साइबर सर्कलले एमालेको प्रतिरक्षा मात्र नभइ समाजमा पनि योगदान पुर्याउने बताउनुभयो । नेता बस्नेतले साइबर सेना नाम राख्दा द्वन्द्वको झल्को दिएको सुझाव आएपछि आफूहरुले साइबर सर्कल घोषणा गर्न लागेको स्पष्ट पार्नुभयो । एमालेविरुद्ध समग्र रुपमा प्रचार अभियान सुरु भएको र एमालेलाई

खुइल्याएबापत रिचार्ज कार्डदेखि मोबाइलसम्मको पुरस्कारको व्यवस्था गरिएकोसमेत खुलासा गर्नुभयो । ‘एमालेलाई खुइल्याएबापत मोबाइल र रिचार्जकार्ड दिन थालिएको छ,’ उहाँले भन्नुभाये, ‘हाम्राविरुद्ध ग्रुपहरु बनाइएका छन्, फेक आइडी बनाएर हाम्राविरुद्ध लगाइएका छन् ।’