राप्रपा अध्यक्षमा लिङ्देनको उम्मेदवारी घोषणा,भने- ‘जित्न मलाई समस्या छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंको दरबारमार्गस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर लिङ्देनले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । (राप्रपा)को प्रत्यक्षबाट एक्ला सांसद एवं पार्टीको महामन्त्री रहेका लिङ्देनले अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

राप्रपाका प्रभावसाली नेता धवल शमशेर राणाले लिङ्देनलाई अध्यक्षमा उम्मेदवारी दिन यसअघि नै प्रस्ताव गरेका थिए ।लिङ्देनले जित्नकै लागि आफूले अध्यक्षको उम्मेदवार बनेको प्रतिकृया दिएका छन् । उनले आफ्नो जित निश्चित भएको तर कुन तरिकाबाट अघि बढ्ने भन्नेमा मात्रै केही अलमल भएको बताए ।

उनले वर्तमान अध्यक्ष थापाबाट राप्रपाका कार्यकर्ताहरु थाकिसकेकाले आफ्नो जितमा कुनै समस्या नरहेको बताए ।राप्रपामा हाल ३ अध्यक्ष रहेका छन् । जसमा हालसम्म अध्यक्षमध्ये कमल थापाले मात्रै उम्मेदवारी दिने बताउँदै आएका छन् । राप्रपाका युवा नेताहरु नयाँ नेतृत्वमा लिङ्देनलाई नै चाहेका छन् ।

राप्रापको अधिवेशन यही मंसिर १५ गतेबाछ १७ गतेसम्म ३ दिन काठमाडौंमै हुँदैछ ।