‘यो पद भनेर दाबी गरेको छैन, तर महासचिवभन्दा तल उठ्दिनँ’- सुरेन्द्र पाण्डे

चितवन- नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले दशौं राष्ट्रिय महाधिवेशनमा आफू महासचिवभन्दा तलको पदको लागि उम्मेदवार नहुने बताएका छन्।

बिहीबार भरतपुर विमानस्थलमा कुरा गर्दै उनले आफूले यही पदको उम्मेदवार हुने भनेर दाबी भने नगरेको बताए। ‘मैले यो पद भनेर दाबी गरेको छैन। तर सहमतिमा यो कुरा टुंगिन्छ। मैले हिजो उठेको ठाउँ पनि पार्टीलाई थाहा छ। बाहिरभित्र सबैलाई थाहा छ। मेरो योग्यता क्षमता र पार्टीभित्र मेरो इतिहास सबै थाहा छ।

त्यसैले त्यही अनुसारको व्यवस्थापन हुन्छ भन्ने लाग्छ’, पाण्डेले भने। उनले आफ्नो योग्यता र क्षमता नभएको पदको लागि अघि नसर्ने उदाहरण पनि प्रस्तुत गरे। आफूलाई केपी ओली नेतृत्वको सरकारको पालामा मन्त्री बन्न प्रस्ताव गरिएकोमा उनले अर्थमन्त्री पाए मात्रै जाने भनेर बताएको उनको भनाइ छ।

‘मैले हिजो पनि भनेको थिएँ, अर्थमन्त्री हुन्छु। मेरो योग्यता र विज्ञता त्यसमा छ। म अर्को मन्त्री भएर जान्नँ। मलाई सोधिएको थियो। मैले जान्नँ भनेँ’, उनले भने। नवौं महाधिवेशनमा पाण्डे महासचिवमा उम्मेदवार थिए। तर आठौं महाधिवेशनेदखि नै महासचिव रहेका ईश्वर पोखरेलसँग ६ मतले मात्रै पराजित भएका

थिए।