श्रीलंकासहित ३२ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

काठमाडौं। श्रीलंकामा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म ३२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ।

शुक्रबार श्रीलंकाका स्वास्थ्य अधिकारीले एक जनामा ओमिक्रोन पुष्टि भएको बताएका छन् । हालै दक्षिण अफ्रिकाबाट फर्किएका एक श्रीलंकालीमा ओमिक्रोन पुष्टि भएको अधिकारीहरूको भनाइ छ। यसअघि बिहीबार भारतको कर्नाटक राज्यका २ जना पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

विभिन्न सञ्चारमाध्यमका अनुसार नयाँ भेरियन्ट फैलिएका मुलुकमध्ये युरोपमा १२ वटा छन् । युरोपमा बेलायतसहित अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, पोर्चुगल, स्पेन र स्विडेनमा ओमिक्रोन फेला परेको सीएनएनले जनाएको छ ।