सम्पुर्ण प्रवासीलाई देश फर्कन प्रधानमन्त्रीको आग्रह

तत्कालै फर्किन नसके देशलाई हित हुने काम गर्नुस् । त्यो पनि सक्नुहुन्न भने ‘जय नेपाल भन्नुस्’ : ओली

पेरिस। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवाशका नेपालीलाई आफ्नो देश फर्किन आव्हान गरेका छन् । स्विट्जरल्यान्डको जेनेभामा आइतबार साँझ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वदेश फर्कन नसके देशलाई हित हुने काम गर्न आग्रह गरे ।

जेनेभास्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कार्यक्रममा सम्बोधन गर्न आएका प्रधानमन्त्री ओलीले सरकारले परिवर्तनका मुद्दालाई द्रूत गतिमा अगाडि बढाउने दाबी गरे। ‘सकेसम्म यताको कारोबार मिलाउनुस् र देश फर्किनुस्। तत्कालै फर्किन नसके देशलाई हित हुने काम गर्नुस्। त्यो पनि सक्नुहुन्न भने जय नेपाल भनेर कामना गर्नुस्,’ उनले भने, ‘हामीले सकारात्मक सोच्यौं भने नेपाल नबन्ने कुरै छैन।’

प्रधानमन्त्री ओलीलले जनताले देश बनाउने अभिभारा दिएर आफूहरुलाई सरकारमा पठाएको बताए। ‘यसो केहि गरौं न, एकपटक सरकारमा पुगौं, केहि समय हेरौं भनेर अल्मलिन पाउने सरकार होइन यो। पाँच वर्ष भित्रै विकास र उन्नतीतर्फ लैजाने अभिभारा सरकारले बोकेको छ,’ उनले भने।

गैरआवासीय नेपालीले दोहोरो नागरिकता मागिरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले उनीहरुलाई राजनितिक मताधिकार बाहेक सबै सुविधा सुनिस्चित हुने बताए। ‘नेपाल अलिकति हल्लाको देश हो। हल्लैहल्लामा प्रवासका नेपालीलाई नागरिकता नदिने हल्ला पिटियो,’ उनले भने, ‘त्यस्तो हल्लामा नलाग्नु होला। नेपालीलाई लगानी गर्न नदिएर, घर र परिवारको नाता टुटाईदिएर अहिलेको सरकारले के पाउँछ? त्यस्तो कल्पना पनि गर्न सकिँदैन।’

प्रधानान्त्री ओलीले मुलुकलाई समृद्धिमा लगेर आफ्नै देशमा अवशर सिर्जना नगराएसम्म युवा पलायन रोक्न नसकिने बताए। ‘युवामा आफ्नै देश बनाउनुपर्छ भन्ने भावना विकास र पर्याप्त अवसर सिर्जना नगरेसम्म विदेश पलायन रोक्न सकिँदैन,’ उनले भने।

नेपाललाई स्विटजरल्याण्डसित तुलना गर्दै उनले भने, ‘८० लाख जनसंख्या भएको स्विटजरल्याण्डले यस्तो प्रगति गर्न सक्छ भने २ करोड ८० लाख भएको हाम्रो देशले किन सक्दैन?’ देश बनाउन आशा र विश्वास महत्वपूर्ण भएकाले सरकारले जनतामा त्यहि जगाउन कोसिस गरिरहेको उनले उल्लेख गरे।

‘दुनियाँ अन्धकारमा रहँदा हाम्रा पूर्खा विद्वान थिए। अनुसन्धान गर्थे। लिपी हाम्रै ठाउँमा बन्यो। ध्वनीलाई लिपी र लिपीलाई ध्वनीमा बदल्न सक्ने बनाए। शास्त्र र कला हाम्रै ठाउँमा जन्मिए। खगोल शास्त्रका अध्येता हाम्रै पूर्खा थिए। गीता र मन्त्र हाम्रै थलोमा जन्मिए। झारपात माडेरै उपचार विधी र ओखलमै नापेर मात्रा पत्ता लगाए,’ उनले भने, ‘अवसर पाए त्यो जीन फेरी सक्रिय हुन्छ र हामी समृद्ध हुन्छौं।’
विदेश आएका नेपालीलाई विकसित मुलुकका नागरिकले संवेदनहिन ठान्ने गरेको प्रसंग पनि ओलीले सुनाए। ‘गरिब भएकाले हामीलाई संवेदनहिन ठान्छन्। भिसा लिने बेला म मेरो परिवार भेट्न आउँछु, घर फर्किन्छु, तिम्रो मुलुकमा बस्ने छैन भन्ने कबोल गराउँछन्,’ उनले भने, ‘अब हाम्रो मुलुकलाई विदेशीहरु भिसा लिएर आउन हुरुक्क हुने बनाउनुपर्छ।’ प्रधानमन्त्री ओलीले समृद्धिले मात्रै मानिस सुखी र खुशि हुन नसक्ने उल्लेख गरे।
‘लोकतन्त्रमा मान्छे धनी भएर मात्रै सुखि हुन्न। सम्मानजनक समाजिक बनावट, समान अधिकार र सामाजिक सुरक्षाको प्रत्याभूती हुनुपर्छ,’ उनले भने।

स्विटजरल्याण्डस्थित प्रवासी नेपालीका जिज्ञासा सुनिसकेपछि प्रधानमन्त्री ओलीले करिब आधा घण्टा सम्बोधन गरेका थिए। – कान्तिपुर दैनिकबाट