२५ सय अंकको विन्दुमा झर्यो नेप्से

काठमाडौं : सेयर बजारमा बैंकिक तरलताले असर गरेको विज्ञहरुले औंल्याएका छन्। एकातिर ब्याजदर बढ्नु र अर्कोतिर बैंकहरुमा तरलता अभाव हुनु नै सेयर बजार निरन्तर घट्नुको मुख्य कारण भएको नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेले अन्नपूर्णलाई बताइन्।

उनले भनिन्,’ बजारमा तरलता अभाव छ, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सेयर धितो कर्जामा लगाएको क्याप, लगानीकर्ताहरु अन्य क्षेत्रमा लगानी गर्न थालेपछि सेयर बजारमा उतावचढाव आएको हो।’ सेयर कारोबारको पहिलो दिन आज नेप्से परिसूचक ७२ अंकले ओरालो लागेको छ।

यसदिन नेप्से ७२.३२ अंकले घटेर २५ सय १३.८७ विन्दुमा झरेको छ। यसदिन कारोबारमा आएका २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता सेयर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२५ रुपैयाँमा किनबेच भयो। यस्तै सेन्सेटिभ इण्डेक्स पनि १४ अंक बढीले घटेर ४७३.३७ विन्दुमा अडेको छ।

यस्तै कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ। फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.५४ प्रतिशतले घटेको छ। त्यसपछि दोस्रोमा डेभलपमेन्ट बैंकको ४.२७ प्रतिशतले घटेको छ। जलविद्युत,अन्य र लगानीको परिसूचक ३ प्रतिशत बढीले घट्दा सामूहिक लगानी कोषबाहेक अन्य समूहको २ प्रतिशत बढिले ओरालो लागेको छ।

सामूहिक लगानी कोषको १ प्रतिशत भन्दा बढीले सेयर मूल्य घटेको हो। नेप्से दोहोरो अंकले घटेपनि यसदिन एउटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। न्यादी हाइड्रो पावरको १० प्रतिशतले सेयर मूल्य बढेको हो। यसदिन कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी

शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड बढीको सेयर खरिदबिक्री भयो।