‘अब राप्रपा फुट्दैन, लिङ्देनलाई सहयोग गर्छु’- कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले अब राप्रपा विभाजन नहुने बताएका छन्। आइतबार सम्पन्न महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने म्यान्डेट दिएकाले अब राप्रपा विभाजन नहुने उनको भनाइ थियो।

एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई दिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले राप्रपा नयाँ कार्यसमितिलाई मन, वचन र कर्मले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले मत परिणाम आफ्नालागि अप्रत्यासित भएको भन्दै पराजयबारे सपनामा पनि नसोचेको बताए। ‘निर्वाचन परिणाम मेरो निम्ति पनि अप्रत्यासित हुन गयो। मैले सपनामा पनि सोचेको थिइनँ, राप्रपाको महाधिवेशनमा मैले नै पराजित हुनुपर्ला भनेर’,

उनले भने, ‘देशभरबाट मलाई भोट हाल्ने भनेर आएका प्रतिनिधिलाई अन्तै भोट हाल्न लगाइयो। जे भए पनि यो हामीले बनाएको पार्टी हो, हामीले यसलाई राम्रो बनाउनुपर्छ।’थापा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए।

निर्वाचन परिणाम आएलगत्तै थापाले राप्रपाको निर्वाचनमा निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र)ले चलखेल गरेकाले आफू पराजित भएको प्रतिक्रिया दिएका थिए। मंगलबार मात्र पनि उनले राप्रपालाई भजन मण्डली बनाउने निर्मल निवासको योजना पूरा हुन

नदिइने विज्ञप्तिमार्फत् उल्लेख गरेका थिए। थापा अध्यक्षमा पराजित भए पनि उनको प्यानलका धेरैजना पदाधिकारी र सदस्यमा विजयी भएका थिए। उनीहरुलाई बधाई दिन आयोजित कार्यक्रममा थापाले भने, ‘महाधिवेशनको म्यान्डेट एकता हो, अब

राप्रपा फुट्दैन।’