गौरिकाले पाउने रकम ५९ लाख कि ११ लाख ?

काठमाडौ। १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कीर्तिमानी पदक जितेकी गौरिका सिंहले जम्मा ५९ लाख रुपैयाँ पाउने भएकी छन् । उनले ४ स्वर्ण, २ रजत र एक काश्य जितेकी थिइन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीले ९ लाख, रजतले ६ लाख र कांस्यले ३ लाख दिने घोषणा गरेका थिए । एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई ५ लाख रुपैयाँ दिने उनले बताएका थिए ।

तर प्रधानमन्त्रीको यो घोषणाको बारेमा कतिपय मन्त्री र कर्मचारीले नै अन्योलमा परेका थिए । कान्तिपुर दैनिकले सार्वजनिक गरेको अडियो रेकर्डलाई सुन्दा उनीहरु यसबारेमा प्रष्ट नभएको अर्थात फरक फरक कुरा बुझेको प्रष्टै हुन्छ ।

अडियोमा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले गौरिकाले ५९ लाख नै पाउने बताएका थिए भने खेलकुदमन्त्री जगत विश्वकर्माले गौरिकाले जम्मा ११ लाख मात्रै पाउने बताएका थिए ।